कुकुर मार्ने महिलालाई प्रहरीले विना कारवाही छाड्यो

१९ साउन, काठमाडौँ । कुकुर मारेको आरोपमा पक्राउ परेकी महिलालाई प्रहरीले छाडेको छ ।

धारिलो हतियारले हानेर कुकुर मारेको आरोपमा तारकेश्वर नगरपालिका–४ कि जुना बराल पक्राउ पछी हिरासत मुक्त भएकी छिन् । प्रहरीले विना कारवाही छाडेको भन्दै पशु अधिकारर्कीले आपत्ति प्रकट गरेका छन् ।

आफ्नो छोरालाई कुकुरले टोकेको भन्दै बुधवार कुकुरलाई हँसियाले हानेर मार्ने बराललाई प्रहरीले पक्राउ गरेको थियो । कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

महानगरीय प्रहरी वृत बालाजुका प्रमुखले नेपाल बसेर अमेरिकाको जस्तो कुकुर मार्नेलाई थुन्ने माग नगर्न भन्दै अधिकारकर्मीलाई धम्काएको पशु अधिकारकर्मीले बताए ।

यस सम्बन्धमा भेट खबरले वृत प्रमुख आशिष अधिकारी संग सम्पर्क गर्दा उनले आफुले त्यसो नभनेको भन्दै कुकर मारेको समेत यथेष्ठ प्रमाण नभएको र निवेदन मात्र प्राप्त भएकोले छलफल गराएको बताए ।उनले भने ‘हामीले कसैलाई पक्राउ गरेका पनि होइनौ ,छलफल मात्र गराएको हो ।यस्ता विषयमा व्यापक जनचेतना फैल्याएर सर्वोच्च अदालतको परमादेशको अनुसरण गर्नु पर्छ ।’

भिडियो हेरेर पशु अधिकारकर्मी स्नेहा श्रेष्ठ सहितको टोलीले बराल विरुद्ध प्रहरीमा उजुरी दिएसँगै बालाजु प्रहरीले महिलालाई पक्राउ गरेर हिरासतमा राखेको हो ।

पशु अधिकारकर्मी इरफान खान समेतले जाहेरी दिदा प्रहरीको चित्तबुझ्दो व्यवहार नपाएकोमा गुनासो गरेकोमा उल्टै प्रहरीले खानलाई समेत जबरजस्ती हिरासतमा राखेर गैरजिम्मेवारी काम गरेको अधिकारकर्मी स्नेहा श्रेष्ठले बताइन् ।

प्रहरी कार्यालय अगाडि पशु अधिकारकर्मीहरूले कुकुर मार्नेलाई कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन्।तर,प्रहरीले जाहेरी समेत दर्ता नगरेकोले उक्त जाहेरी महानगरीय प्रहरी परिसर टेकु हुँदै सरकारी वकिलको कार्यालयमा भोलि दर्ता गर्ने तयारी रहेको समेत उनले बताइन्।