२०८२ असार १२ गते
नेपाल भेटेरिनरी एशोसिएसनले आफ्नो ५८औं स्थापना दिवस मनाएको छ । पशु चिकित्सकहरूको छाता संगठन नेपाल भेटेरिनरी एशोसिएसनको ५८औं स्थापना दिवस असार ११ गते देशव्यापी रूपमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भयो।
एशोसिएसनले काठमाडौंमा बृहत रक्तदान कार्यक्रम तथा “नेपालमा भेटेरिनरी सेवा: वर्तमान अवस्था र सम्भावनाहरू” विषयक अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको थियो। त्यस्तै, सातवटै प्रादेशिक समितिहरूले निःशुल्क पशु स्वास्थ्य उपचार शिविर, खोप कार्यक्रम, तालिम तथा टक प्रोग्राम, सचेतनामूलक गोष्ठी, रक्तदान, लगायतका विविध रचनात्मक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेका छन्।
काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा पूर्व अध्यक्ष डा. नरेन्द्र बहादुर सिंह प्रमुख अतिथि रहेका थिए भने अध्यक्ष डा. केदार सुबेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन महासचिव डा. शंकर न्यौपानेले गरेका थिए।
कार्यक्रममा पूर्व अध्यक्षहरू डा. भोला मेहर श्रेष्ठ, डा. प्रलाद सापकोटा, डा, बज्र किशोर प्रसाद शाह, डा. बिमल कुमार निर्मल, डा .सितलकाजी श्रेष्ठ, डा. रामकृष्ण खतिवडा लगायत वरिष्ठ भेटेरिनरी चिकित्सकहरू तथा विभिन्न क्षेत्रमा कार्यरत चिकित्सकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा करिब २०० जना सहभागी थिए।
पूर्व अध्यक्ष एवं पशु सेवा विभागका पूर्व महानिर्देशक डा. बिमल कुमार निर्मलले “नेपालमा भेटेरिनरी सेवा: वर्तमान अवस्था, सम्भावनाहरू र एशोसिएसनको भूमिका” विषयमा कार्यपत्र प्रस्तुत गरे। यस्तै, कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. आइ. पी. ढकालले “नेपालमा भेटेरिनरी शिक्षा: वर्तमान अवस्था र अबको बाटो” विषयमा आफ्नो धारणा राखेका थिए।
त्यस्तै डा. भोला मेहर श्रेष्ठ, डा. बज्र किशोर प्रसाद शाह र डा. रामकृष्ण खतिवडा सम्मिलित प्यानल छलफलको सञ्चालन प्रधान सम्पादक डा. हिमाल लुइँटेलले गरेका थिए। वक्ताहरूले संघीयता पछि देखिएको समन्वय अभाव, प्रतिजैविक प्रतिरोध, जोनोसिस, ‘वन हेल्थ’ अवधारणा, भेटेरिनरी विश्वविद्यालयको आवश्यकता लगायतका समसामयिक चुनौतीहरूमा एशोसिएसनले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए।
४० जना पशु चिकित्शक लगायत अन्यले रक्तदान गरेका थिए भने, देशभर सञ्चालन गरिएका निःशुल्क स्वास्थ्य उपचार तथा खोप कार्यक्रमबाट हजारौँ पशु–पन्छीहरूलाई सेवा प्रदान भएको थियो।
कार्यक्रम समापनमा अध्यक्ष डा. सुबेदीबाट देशभर भएका छलफल तथा अन्तरक्रियाबाट प्राप्त सुझाव र सन्देशहरूलाई विश्लेषण गरी नेपाल सरकार तथा सम्बन्धित निकायहरूसमक्ष प्रस्तुत गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त भएको थियो।
महासचिव डा. न्यौपानेले आफ्नो भनाइ राख्ने क्रममा पूर्व अध्यक्षहरू डा. नरेन्द्र बहादुर सिंह, डा. भोला मेहर श्रेष्ठ, डा. प्रलाद सापकोटालगायत व्यक्तित्वहरूको प्रेरणादायी योगदान, अग्रजहरूको समर्पण, नयाँ पुस्ताको उत्साह र जोश, साथै केन्द्रिय एवं प्रादेशिक कार्यसमितिहरूको सक्रियताले संस्थालाई थप सशक्त र गतिशील बनाएको उल्लेख गरे।
देशव्यापी रूपमा सम्पन्न कार्यक्रमहरूको सफल आयोजनामा सहयोग पुर्याउने सम्पूर्ण भेटेरिनरी चिकित्सकहरू, शैक्षिक तथा व्यवसायिक संस्थाका प्रतिनिधिहरू, सरोकारवाला निकाय, सञ्चारकर्मी तथा सहयोगीहरूप्रति एशोसिएसनले हार्दिक आभार समेत व्यक्त गरेको कुरा बिज्ञप्ती मा उल्लेख गरेको छ ।







