कृषि मन्त्रीको फेरिएको बोलि, भने: मलको हाहाकार छ, हुन्छ

१२ असार २०८२। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले असार ९ गते मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिने क्रममा गत वर्षको र यो वर्ष आयात हुने मलबाट किसानको माग पूरा हुने बताएको ३ दिन पनि नबित्दै आज एउटा कार्यक्रममा आफैले बोलेको उक्त कुराको ठिक बिपरित बोलेको पाईएको छ ।

उक्त दिन सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा किसानका लागि आवश्यक रासायनिक मल मौज्दातमा रहेकाले कुनै चिन्ता नलिन आग्रह गरेका थिए । आज मन्त्री अधिकारीले नेपाल डेरी एसोसिएशनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मलको हाहाकार रहेको र भइरहने बताए ।

आफ्नो भनाइ राख्दै मन्त्री अधिकारीले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन भन्दा मल आएको बताए । मन्त्री अधिकारीले बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेकोले एक चौथाई मलले किसानलाई समयमै मल पुर्‍याउनसक्ने स्थिति नरहेको र नसकिने पनि बताए ।

२०८१ फागुन १ गते मन्त्री अधिकारीले मन्त्रालयले सम्पादन गरिरहेका विभिन्न कामका प्रगति एवं समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सँधै समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन समेत दिएका थिए ।

चालु आर्थिक वर्षमा रासायनिक मल आयातका लागि बजेट विनियोजन भएपश्चात् हालसम्म तीन लाख ४५ हजार मेट्रिक टन मल आयात गरिएको, तीन लाख ९१ हजार मेट्रिक टन बिक्री वितरण भएको छ । आगामी आव २०८२/८३ का लागि मल आयात गर्न २८ अर्ब ८२ करोड बजेट विनियोजन भएको छ जसबाट ६ लाख मेट्रिक टन मल आयात हुनेछ ।