१५ असार २०८२, आइतबार। आज असार १५ गते २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईदैछ । धान दिवसको केन्द्रीय कार्यक्रम ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र परिसरमा कृषि विभागले आयोजना गर्नेछ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । वि.सं. २०६१ देखि प्रत्येक असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको हो । चालु आ।व। २०८१/८२ मा वर्षे र चैते गरी १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । देशलाई आवश्यक ७० लाख मेट्रिक टन धानमध्ये अझै १० लाख मेट्रिक टन अपुग रहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत २१ जोन र ५ सुपरजोनमार्फत पनि धानको मूल्य श्रृंखलामा काम भइरहेको छ । साथै, संघीय सरकारको सशर्त वित्तीय हस्तान्तरणमार्फत १८ जिल्लाका ५८ पालिकामा चैते धान प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२को ११ महिनामा (साउन–जेठ) ३८ अर्ब ९४ करोड रुपियाँको धानचामल आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । गत वर्ष सो अवधिमा २१ अर्ब १२ करोड रुपियाँ बराबरको मात्र धानचामल आयात भएको थियो । यो वर्ष झन्डै दोब्बर रकमले धानचामलको आयात बढेको छ ।
चालु आवको २०८१/८२ ११ महिनामा २१ अर्ब १५ करोड रुपियाँ बराबरको २ लाख ६१ हजार ९१९ मेट्रीक टन धान आयात भएको छ । गत वर्ष सो अवधिमा १२ अर्ब ४३ करोड रुपियाँ बराबरको १ लाख ५३ हजार ७०८ मेट्रीक टन धान आयात भएको थियो ।
यस्तै चालु आवमा १७ अर्ब ७८ करोड ५७ लाख रुपियाँ बराबरको ६७ हजार ३६६ मेट्रीक टन चामल आयात भएको छ । गत वर्ष सो अवधिमा आठ अर्ब ६९ करोड १६ लाख रुपियाँ बराबरको २० हजार ६९७ मेट्रीक टन चामल आयात भएको थियो । मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धानको माग रहेकोमा १० लाख मेट्रिक टन अपुग छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । धानको उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन रहेको छ ।







