अर्थमा रामेश्वर खनाल, ऊर्जामा कुलमान घिसिङ र गृहमा ओम प्रकाश अर्याल नियुक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा तीन जना मन्त्रीले सपथ लिएका छन् । अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएको हो ।

अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाएका छन् । घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि  शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । त्यसैले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो  ।आज चाहिँ खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन मिलाइएको हो ।