माघ १ देखि चेकबाट पाँच लाखसम्म मात्र नगद निकाल्न पाइने

काठमाडौं – अब चेक प्रयोग गरेर एकैपटक पाँच लाख रुपैयाँभन्दा बढी नगद झिक्न नपाइने भएको छ। सम्पत्ति शुद्धीकरण नियन्त्रणलाई थप कडाइ गर्ने उद्देश्यसहित सरकारले यस्तो व्यवस्था लागू गरेको हो।

गत महिना मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल राष्ट्र बैंकले शुक्रबार सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै माघ १ गतेदेखि नयाँ व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।

सरकारको निर्णय बिहीबार राजपत्रमा प्रकाशित भएसँगै कानुनी रूपमा लागू भएको हो। नयाँ नियमअनुसार पाँच लाख रुपैयाँभन्दा बढीको नगद कारोबारलाई अवैध मानिनेछ।

यसअघि चेकमार्फत नगद कारोबारको अधिकतम सीमा १० लाख रुपैयाँसम्म रहेको थियो। नयाँ प्रावधान लागू भएपछि ठूलो रकमको नगद कारोबार नियन्त्रणमा आउने सरकारको अपेक्षा छ।