काठमाडौँ । नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरको बिरामीको सङ्ख्या बढ्दै गएको छ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढेको हो ।
नेपालभरका २० भन्दा बढी न्युरो केन्द्रबाट भएको अध्ययन आधारमा उक्त तथ्यांक सार्वजनिक गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा. राजीव झाले जानकारी दिए। उनका अनुसार २०८२ सालमा तीन हजार जना ब्रेन टयुमटरमा बिरामीको शल्यक्रिया गरिएको छ । विसं २०८१ मा यो सङ्ख्या दुई हजार ६०० थियो ।
शल्यक्रिया गरिएका ब्रेन ट्युमरका बिरामीमध्ये पुरुष बढी रहेका तथ्यांकमा उल्लेख छ । पुरुष एक हजार ५०२ जनाको र महिला एक हजार ४९८ जना रहेका छन् । उनले सबभन्दा बढी बिरामी ३० देखि ५० वर्ष उमेर समूहका रहेका छन् । तथ्यांकअनुसार सबभन्दा बढी बागमती प्रदेशमा ३६.४ प्रतिशत बिरामीको शल्यक्रिया गरिएको छ ।
वरिष्ठ न्यूरोसर्जन डा. झाले नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बर्सेनि बढिरहेको भन्दै प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो ।
उहाँले स्टेज १ र २ का ब्रेन ट्युमरको शल्यक्रियामार्फत उपचार गर्न सकिन्छ भने स्टेशन ३ र ४ का बिरामीलाई शल्यक्रियाका साथै विभिन्न थेरापीबाट उपचार गरिने बताए । नेपालमा ग्लियोमा (एक प्रकारको ट्युमर) का बिरामी सबभन्दा बढी रहेका छन् । २०८२ मा उच्च ग्रेड ग्लियोमाको अनुपात ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुगेको छ । यस्तै मेनिन्जियोमा (एक प्रकारको ट्युमर)को बिरामी ७.४ प्रतिशतबाट २०८२ मा २७.१ प्रतिशत पुगेका छन् ।
निरन्तर टाउको दुख्नु, बिहानै उठ्न बित्तिकै वान्ता हुनु, कान नसुन्नु, छारे रोग हुनु, शरीरमा प्यारालाइसिस देखिनुजस्ता लक्षण ब्रेन ट्युमरका हुन् । वीर अस्पतालले दुई वर्षदेखि नि:शुल्क ब्रेन ट्युमर शल्यक्रिया गर्दै आएकामा यो सेवा आगामी जुन महिनासम्म उपलब्ध हुने डा. झाले बताए । ‘प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।







