काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दुई मन्त्रीसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै “देश बनाउने टोली” लेखेका छन्।
कालो पहिरनमा सजिएका बालेनले पोस्टमा पीएम, एचएम, आईएम, लेखेका छन्। जसको अर्थ क्रमशः अर्थात् प्राइम मिनिस्टर, होम मिनिस्टर र इन्फ्रास्ट्रक्चर मिनिस्टर रहेको छ। तस्बिरमा उनी दुई मन्त्रीलाई अँगालो हालेको अवस्थामा देखिन्छन्।
बालेनको उक्त पोस्ट सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। पोस्टमा लाइक, कमेन्ट र शेयरको संख्या तीव्र रूपमा बढिरहेको छ भने प्रयोगकर्ताहरूले विभिन्न कोणबाट यसको अर्थ र सन्देशबारे टिप्पणी गरिरहेका छन्।
यसअघि पनि उनले आफ्नो फेसबुकमार्फत “मेरो फेभरेट देशले विश्वकप खेलेन” भन्ने छोटो स्टाटस लेखेका थिए, जसले सामाजिक सञ्जालमा चर्चा बटुलेको थियो। छोटा तर अर्थपूर्ण र रहस्यमय सन्देश दिने शैलीका कारण बालेनका पोस्टहरू प्रायः चर्चाको विषय बन्ने गरेका छन्।
यसपटकको “देश बनाउने टोली” शीर्षकसहितको पोस्टले पनि सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानेको छ र यसको सन्देशबारे विभिन्न अड्कलबाजी भइरहेका छन्।







