नेकपाभित्र निराशा बढ्दा नेता–कार्यकर्ताको ‘हाँसो हरायो’ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पछिल्लो राजनीतिक परिस्थितिका कारण पार्टीभित्र निराशा र कुण्ठा बढ्दै गएको बताएका छन्। उनले नेता–कार्यकर्तामा उत्साहको कमी देखिएको र हाँसेर बोल्ने साथीहरू समेत दुर्लभ बन्दै गएको टिप्पणी गरे।

ललितपुरमा आइतबार वामपन्थी नेता डीआर पौडेलको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै पूर्वगृहमन्त्री श्रेष्ठले पार्टी वैचारिक तथा सांस्कृतिक रूपमा कमजोर अवस्थामा पुगेको बताए। उनका अनुसार पछिल्ला चुनावी परिणामले पनि उक्त कमजोरीलाई उजागर गरेको छ।

“अहिले पार्टीमा हाँसेर कुरा गर्ने साथी भेट्नै गाह्रो भएको छ। अधिकांश साथीहरू निराश, कुण्ठित र निहुरो मुख लगाएर बसेको देखिन्छ,” उनले भने। यस्तो मनोवृत्तिले पार्टी र आन्दोलन दुवैलाई कमजोर बनाउने भएकाले क्रान्तिकारी उत्साह कायम राख्न आवश्यक रहेको उनको भनाइ थियो।

श्रेष्ठले समाजवादविरोधी दक्षिणपन्थी र लोकप्रियतावादी शक्तिहरू हावी हुँदै गएको तथा बाह्य शक्तिहरू नेपालको राष्ट्रिय स्वाधीनतामाथि प्रभाव विस्तार गर्न सक्रिय रहेको दाबी गरे। यिनै कारणले पार्टी पंक्तिमा निराशा बढेको उनको विश्लेषण थियो।

नेता–कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै उनले प्रतिकूल परिस्थितिको सामना हाँसेरै गर्नुपर्ने बताए। “जति सकिन्छ त्यति योगदान गर्ने हो, भाग्ने होइन। परिस्थितिले चुनौती दिए पनि क्रान्तिकारीले आशा र संघर्ष छाड्नु हुँदैन,” उनले भने।

श्रेष्ठले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन पार्टी रूपान्तरणको अभियानमा सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए। साथै, गैर–क्रान्तिकारी प्रवृत्तिसँग संघर्ष गर्दै इमानदार भूमिकामा अडिग रहन नेता–कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि डीआर पौडेलको वैचारिक प्रतिबद्धता, वर्गीय पक्षधरता र सरल जीवनशैलीलाई नयाँ पुस्ताका क्रान्तिकारीका लागि प्रेरणादायी उदाहरणका रूपमा स्मरण गरेका थिए। साथै, उनको जीवन र योगदान समेटिएको स्मृति ग्रन्थ प्रकाशनको तयारी भइरहेको जानकारी पनि दिइएको थियो।