काठमाडौं, असार १ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायका भवनभित्र कार्यालय सञ्चालन गर्दै आएका गैरसरकारी प्रकृतिका प्राविधिक तथा पेशागत संघ–संस्थाहरूलाई ७ दिनभित्र कार्यालय स्थानान्तरण गर्न निर्देशन दिएको छ।
संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका विभिन्न संघ, संगठन तथा संस्थाहरूका केन्द्रीय, प्रादेशिक, जिल्ला, सम्पर्क तथा इकाइ कार्यालयहरू सरकारी भवन तथा संरचनाभित्र सञ्चालन भइरहेको पाइएकाले प्रशासनले आइतबार अत्यन्त जरुरी सूचना जारी गरेको हो।
सूचनाअनुसार यस्ता संघ–संस्थाहरूले सरकारी भवनबाट कार्यालय हटाई निजी वा भाडामा लिइएको भवनमा स्थानान्तरण गरी सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउनुपर्नेछ।
त्यसैगरी, सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूलाई पनि आफ्नो परिसरमा रहेका यस्ता संघ–संस्थाका साइनबोर्ड, बोर्ड तथा अन्य संरचना हटाई उनीहरूले ओगटेका स्थान खाली गराउन निर्देशन दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले सूचनाको बेवास्ता गर्दै सरकारी संरचनाभित्र कार्यालय सञ्चालन गरिरहेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।
प्रशासकीय अधिकृत तीर्थराज कट्टेलद्वारा हस्ताक्षरित उक्त सूचनाले सरकारी सम्पत्तिको उपयोग र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन खोजिएको प्रशासनको भनाइ छ।







