जुम्ला । जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
जिल्ला खोप समन्वय समितिको आयोजनामा आज यहाँको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहलाई एक कार्यक्रमबीच पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरणकुमार शर्माले चालु आर्थिक वर्षमा यहाँका सबै स्थानीय तहका बालबालिकालाई पूर्ण रूपमा खोप लगाइएकाले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताए ।
जिल्लाका आठ स्थानीय तहका १५ महिनासम्मका दुई हजार ६८ र १६ देखि २३ महिनाका तीन हजार ३६४ बालबालिकालाई सबै प्रकारका खोप लगाइएको हो ।
प्रमुख जिल्ला अधिकारी दीपककुमार पौडलेले निरोगी हुनका लागि बालबालिकालाई सबै प्रकारका खोप लगाउनु अपरिहार्य रहेको बताए ।
जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय तहको योगदान महत्त्वपूर्ण रहेको बताए।
समग्र जिल्लाको ६८ प्रतिशत खोपको प्रगति भएको छ । खोप केन्द्र सङ्ख्या ८९ वटा रहेका छन् । कार्यक्रममा जिल्लाका आठ स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो ।







