आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

काठमाडौँ । आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार यादवको शनिबार राति करिब २ बजे मृत्यु भएको हो।

आत्मदाहको प्रयासपछि उनलाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो। साँझ करिब ७:३० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिए पनि उपचारका क्रममा उनको ज्यान बचाउन सकिएन।

प्रारम्भिक जानकारीअनुसार यादवले आफूमाथि पेट्रोल छर्केर आगो लगाएका थिए।

आफन्तका अनुसार बायोलोजी विषयमा एमएस्सी गरेका विवेक विगत एक वर्षदेखि मानसिक तनावमा थिए। उनी रामनगरस्थित एक विद्यालयमा अध्यापन गराउँदै आएका थिए। तर विद्यालय प्रशासनले उनको स्थानमा अर्का शिक्षक नियुक्त गरेपछि उनी बेरोजगार बनेका थिए। त्यसयता उनी घरमै बस्दै आएका थिए।

विवेककी भाउजू शान्तिदेवी मण्डलका अनुसार शुक्रबार दिउँसो करिब १२ बजेतिर सिसौटिया बजारचोकमा उनले एक्कासी आत्मदाहको प्रयास गरेका थिए।