गण्डकी। जिल्ला प्रशासन कार्यालय, कास्कीले सेवाग्राहीको चाप बढेपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहान आठ बजेदेखि नै सुरु गर्ने भएको छ।
बुधबारदेखि लागु हुने गरी उक्त सेवा प्रवाहका लागि समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। सेवाग्राहीले सार्वजनिक बिदाका दिनबाहेक हरेक बिहान आठ बजेदेखि नै राष्ट्रिय परिचयपत्रसम्बन्धी प्राप्त गर्ने उनले बताए।
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गर्न प्रयोग हुने ‘सफ्टवेयर अपग्रेड’ हुने क्रममा रहेकाले उक्त सेवा सुस्त हुने र कहिले अवरुद्धसमेत हुने समस्या देखिँदै आएको कार्यालयले जनाएको छ। जसका कारण समयमा सेवा प्रवाह हुन नसकी कार्यालयमा सेवाग्राहीको चाप बढ्दै गएको हो।
कार्यालयले मङ्गलबार सार्वजनिक सूचनामार्फत विगतमा तस्बिर खिचाएर बायोमेट्रिक दिनुभएका सेवाग्राहीलाई राष्ट्रिय परिचय आएकोबारे मोबाइलमा सन्देश आएपछि मात्र कार्यालयमा आउन आग्रह गरेको छ। राष्ट्रिय परिचयपत्र वितरणका लागि कार्यालयले जारी गर्ने आधिकारिक सूचना हेरेर मात्र कार्यालयमा आउन सेवाग्राहीलाई अनुरोध गरिएको हो।







