बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडी । सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सञ्चालन गरेको हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा बैतडीमा प्रभावकारी बन्दै गएको छ । पछिल्लो तीन महिनामा जिल्लाका १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।

जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार कार्यालयले तीन महिनामा २४८ राहदानी वितरण गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये १७८ जनालाई घरमै राहदानी पुर्‍याइएको हो ।

“बाँकी राहदानी पनि सम्बन्धित पालिकामार्फत सेवाग्राहीका घरमा पठाइसकेका छौँ,” प्रमुख कार्कीले भने ।

उनका अनुसार बैतडीका सबै स्थानीय तहमा हुलाकमार्फत राहदानी वितरण सेवा विस्तार गरिएको छ । नौवटा पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ भने दशरथचन्द नगरपालिकामा जिल्ला हुलाक कार्यालयबाटै सेवा दिइँदै आएको छ ।

घरमै राहदानी प्राप्त हुने भएपछि सेवाग्राहीलाई सदरमुकामसम्म धाउनुपर्ने बाध्यता घटेको कार्यालयले जनाएको छ ।