लागुऔषध खैरो हेरोइन मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

महोत्तरी । लागुऔषध खैरो हेरोइन मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध खैरो हेरोइन ५१.९२० ग्राम बरामद भएको मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई सर्लाहीको ईश्वरपुर नगरपालिका–५ बाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–५ निवासी ४५ वर्षीय मित्रकुमार गौतम र सोही स्थानका ४० वर्षीय राम उदगार महतो रहेका छन्।

प्रहरीका अनुसार उनीहरू महमद गफार अन्सारीसमेत प्रतिवादी रहेको लागुऔषध खैरो हेरोइनसम्बन्धी मुद्दामा फरार रहेका थिए।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि सम्मानित महोत्तरी जिल्ला अदालतमा बुझाउने प्रयोजनार्थ इलाका प्रहरी कार्यालय केशरजंगमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरी विवरणअनुसार उल्लेखित प्रतिवादीहरूविरुद्ध महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। अदालतको आदेशअनुसार फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई प्रहरीले निरन्तरता दिँदै आएको जनाएको छ।