काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद्ले विद्युतीय एम्बुलेन्स तथा शववाहनमा कर छुटदेखि सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्का निर्णयहरू :
१. नेपालमा पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स तथा शववाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने।
२. सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने।
३. पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्न सहमति प्रदान गर्ने।
४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने।
५. पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने।







