रौतहट। रौतहटको देवाही गोनाहीस्थित लाल बकैया नदीमा नुहाउने क्रममा मङ्गलबार दिउँसो तीनजना बालबालिका डुबेर बेपत्ता भएका छन्।
बेपत्ता हुनेहरूमा देवाही गोनाहीका १० वर्षीय मोहम्मद रमतुल्लाह, १० वर्षीया रौशन खातुन र १० वर्षीया सोनम खातुन रहेका छन्। साथीहरूसँग नदीमा नुहाउन गएका उनीहरू अचानक गहिरो भागमा पुगेर डुबेको स्थानीयले जनाएका छन्।
बालबालिका डुबेर बेपत्ता भएको खबर पाउनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारका लागि तत्काल घटनास्थल पुगेको छ। अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त टोलीले खोजी कार्य तीव्र बनाएको छ।
उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश देवाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा ७ जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा १६ जना प्रहरीको टोली खटिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकृत एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त गौतमका अनुसार सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा बेपत्ता बालबालिकाको खोजी कार्य निरन्तर जारी राखिएको छ।






