कुखुरापालक किसानको काठमाडौंकेन्द्रित आन्दोलन (तस्बिरसहित)

कुखुरापालक किसानको काठमाडौंकेन्द्रित आन्दोलन बिचौलिया हाबी भएको गुनासो

काठमाडौं । नेपालका सम्पूर्ण किसानको प्रतिनिधित्व गर्दै काठमाडौंको माइतीघरमा कुखुरापालक किसानहरूले आन्दोलन सुरु गरेका छन्। किसानहरूले उत्पादनका लागि आवश्यक चल्ला, दाना र औषधिमा गुणस्तर सुनिश्चित नभएको गुनासो गरेका छन्।

त्यस्तै, राज्यले दाना र चल्लाको मूल्य निर्धारण तथा नियमनमा प्रभावकारी हस्तक्षेप नगरेका कारण किसानहरू मारमा परेको उनीहरूको गुनासो छ। आन्दोलनका अगुवा सन्तोष अधिकारीका अनुसार किसानको उत्पादन लागत घटाउन दाना तथा चल्लाको मूल्य र गुणस्तरमा राज्यको प्रभावकारी हस्तक्षेप आवश्यक छ।

उनका अनुसार दाना संघले दानाको मूल्य निर्धारण गर्ने र ह्याचरी उद्योगले चल्लाको मूल्य निर्धारण गर्ने अवस्था छ। तर कुखुराको हकमा भने बिचौलिया हाबी भएर मूल्य निर्धारण हुने गरेको उनको भनाइ छ।

यद्यपि, लेयर्स पालक किसानको हकमा भने धेरै किसान स्थापित व्यवसायी भइसकेका कारण उनीहरूकै लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य निर्धारण गर्दै आएको अधिकारी बताउँछन्।

किसानहरूले भारतीय कुखुराको तस्करी बन्द गर्नुपर्ने, बजारमा कुखुराको मूल्यको सुनिश्चितता हुनुपर्ने, दाना तथा चल्लाको गुणस्तर सुनिश्चित गर्नुपर्ने, दाना र चल्लाको मूल्य पारदर्शी हुनुपर्ने तथा बिचौलियाको जालो तोड्नुपर्ने माग राखेका छन्।

यी मागसहित कुखुरापालक किसानहरू आजदेखि आन्दोलनमा उत्रिएका छन्।

किसानका मुख्य माग

  • उत्पादन लागतका आधारमा कुखुराको मूल्य निर्धारण गर
  • किसानलाई संरक्षण हुने गरी न्यूनतम समर्थन मूल्य कायम गर
  • कुखुराको मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित गर
  • बजारमा बिचौलियाको प्रभाव नियन्त्रण गर
  • चल्लाको मूल्य, गुणस्तर र आपूर्तिमा पारदर्शिता कायम गर
  • गुणस्तरहीन चल्ला बिक्री गर्ने ह्याचरीमाथि अनुगमन र कारबाही गर
  • गुणस्तरीय दाना उपलब्ध गराउने व्यवस्था गर
  • दाना तथा चल्लाको गुणस्तरमा किसानको गुनासो तत्काल सम्बोधन गर
  • नेपाली पोल्ट्री किसानको लगानी संरक्षण हुने नीति ल्याऊ
  • सीमा नाकामा निगरानी बढाई अवैध कुखुरा तथा चल्लाको आयात रोक