चितवन-पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको छ। नगर क्षेत्रका पशुमा रेविजको लक्षण देखिएको हो। रत्ननगर–९ र १० को नमूनामा रोगको सङ्क्रमण पुष्टि भएको छ।
पशु सेवा कार्यालयका प्रमुख डा प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा रोग सङ्क्रमण पुष्टि भएको हो। उनका अनुसार यो रोग लागेका गाई भैँसीले ¥याल काड्ने, टाउको भित्तामा ठोक्ने, मान्छे या अन्य जनावरलाई टोक्न खोज्ने, पानी खान नखोज्ने, घाँस खान नखोज्ने, दूध घटाउने र मर्ने हुन्छ। कुकुर बिरालामा रेविजविरुद्धको भ्याक्सिन लगाइए पनि अन्य पशु चौपायमा खासै यसको सुई लगाइँदैन।
रोगको सङ्क्रमण देखिएसँगै सङ्क्रमित क्षेत्रमा पालिएका पशु चौपायमा रेविजविरुद्धको खोप लगाउन सुरु गरिएको छ। यो रोग लाइसा नामक भाइरसका कारण लाग्ने गर्दछ। जिल्लाका अन्य पालिकाहरुमा समेत यस रोगको सङ्क्रमण देखिन सक्ने जनाउँदै पशुपालक किसानलाई उच्च सावधानी अपनाउन आग्रह गरिएको छ।
रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राजभण्डारीका अनुसार पालिकाका विभिन्न वडामा पालिएका पशुमा यो रोगको सङ्क्रमण देखिएको छ यहाँका पशुहरुको नमूना सङ्कलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौँ पठाइएको छ । रोगको सङ्क्रमण देखिएपछि सङ्क्रमित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
उनका अनुसार यस आर्थिक वर्षमा सो पालिकामा चार वटा नमूना सङ्कलन गरिएको छ। दुई वटा नमूनाको परीक्षणका लागि पठाउने तयारी गरिएको छ। दुई वटामा सङ्क्रमणको पुष्टि भइसकेको छ । पशु मरेपछि नमूना परीक्षणका लागि पठाउने गरिन्छ।
सङ्क्रमणका लक्षण देखिएका नौदेखि १० दिनको बीचमा पशु मर्ने गरेको जानकारी दिइएको छ। यस पालिकाको वडा नम्बर ९, १० र १६ मा रेविजको सङ्क्रमण देखिएको हो। यस क्षेत्रमा न्याउरी मुसा र स्यालको टोकाइले रेविज सरेको अनुमान गरिएको छ। रेविजको सङ्क्रमण देखिएका क्षेत्रमा रहेका पशु तथा मानिसमा रेविजविरुद्धको सुई दिन थालिएको छ।
कुकुर र जङ्गली जनावरको टोकाइबाट सर्ने यस रोगबाट जङ्गलको आसपासमा रहेका कृषकलाई सतर्कता अपनाउन र लक्षण देखिए तत्काल खबर गर्न अनुरोध गरिएको छ।
जनावरले टोकेको वा चिथोरेको ठाउँमा तुरुन्तै १५ मिनेटसम्म साबुन र बगिरहेको सफा पानीले राम्ररी धुने, चिकित्सकको सल्लाहअनुसार तुरुन्तै र तोकिएको तालिकाअनुसार रेविजविरुद्धको खोप लगाउने, घरपालुवा कुकुर र बिरालालाई नियमित रूपमा प्रत्येक वर्ष रेविजविरुद्धको खोप लगाउने तथा शङ्कास्पद वा अनौठो व्यवहार देखाएका पशुलाई अन्य जनावर र मानिसबाट टाढा सुरक्षित ठाउँमा थुनेर राख्नुपर्ने सुझाव दिइएको छ।







