लाइबेरियामा खोप अनुसन्धानका लागि चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा – हेपाटाइटिस बी खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जीको लाइबेरियास्थित संरक्षण केन्द्रमा स्वास्थ्य परीक्षण गरिएको छ ।

मध्य लाइबेरियाको ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’मा रहेका चिम्पान्जीको दाँत सफा गर्ने, एक्स–रे गर्ने, नङ काट्नेलगायतका स्वास्थ्य परीक्षण गरिएको केन्द्रकी निर्देशक लिलियाना पाचेको रिकोटेले जानकारी दिइन् ।

उनका अनुसार सन् १९७० को दशकदेखि २००० को दशकको सुरुआतसम्म अमेरिकी अनुसन्धानकर्ताले लाइबेरियामा हेपाटाइटिस बी खोप परीक्षणका क्रममा ४०० भन्दा बढी चिम्पान्जी प्रयोग गरेका थिए । तीमध्ये धेरैलाई सानै उमेरमा जंगलबाट समातिएको थियो ।

पश्चिम अफ्रिकामा गिनीपछि सबैभन्दा धेरै चिम्पान्जी पाइने देश लाइबेरिया हो । तर, पछिल्ला वर्षमा सङ्ख्यामा तीव्र गिरावट आएपछि पश्चिम अफ्रिकी चिम्पान्जीलाई अत्यन्त सङ्कटापन्न प्रजातिका रूपमा वर्गीकरण गरिएको छ ।

रिकोटेका अनुसार अनुसन्धानका क्रममा चिम्पान्जीमाथि शरीरभित्रै हस्तक्षेप हुने विभिन्न परीक्षण गरिएका थिए । उनीहरूले लामो समयसम्म पीडा र कठिनाइ सहनुपरेको थियो ।

‘ह्युमेन वल्र्ड फर एनिमल्स’का अनुसार सन् २०१५ मा अनुसन्धान कार्यक्रम समाप्त भएपछि बाँकी रहेका ६० चिम्पान्जीको स्थायी हेरचाहको जिम्मेवारी संस्थाले लिएको थियो । हाल उनीहरू म्यान्ग्रोभ वनले ढाकिएका टापुहरूको समूहमा रहेको संरक्षण केन्द्रमा बस्दै आएका छन् ।

एनेस्थेसिया दिएर गरिएको पछिल्लो स्वास्थ्य परीक्षणमा चिम्पान्जीको टाउकोदेखि खुट्टासम्म परीक्षण गरिएको थियो । संस्थाका अनुसार दीर्घकालीन स्वास्थ्य अवस्था मूल्याङ्कन गर्ने, रोगका प्रारम्भिक लक्षण पहिचान गर्ने र उमेरअनुसार आवश्यक हेरचाह योजना बनाउने उद्देश्यले परीक्षण गरिएको हो ।

परीक्षणका क्रममा दाँत, मुटु, फोक्सो, स्नायु प्रणाली र रगतको जाँच गरिएको थियो । साथै, उनीहरूलाई बुस्टर खोप दिइएको र नङ काटिएको संस्थाले जनाएको छ । बाँकी चिम्पान्जीको समेत स्वास्थ्य परीक्षण गर्ने योजना रहेको छ ।

संरक्षण केन्द्रकी पशु चिकित्सक बेलेन पेरेज हर्नान्डोले विगतमा लामो समयसम्म पीडा र कठिनाइ भोगेका चिम्पान्जीको स्वास्थ्य परीक्षण उनीहरूको वर्तमान हेरचाहको महत्वपूर्ण हिस्सा भएको बताइन् ।

हाल संरक्षण केन्द्रमा रहेका चिम्पान्जीको औसत उमेर ३० देखि ३५ वर्ष रहेको छ । विगतमा गरिएका अनुसन्धानले उनीहरूको स्वास्थ्यमा पारेको दीर्घकालीन असरबारे परीक्षणको विस्तृत नतिजा भने आउन बाँकी छ ।

रिकोटेका अनुसार अनुसन्धानका क्रममा भोग्नुपरेको पीडाका असर अझै पनि केही चिम्पान्जीमा देखिन्छन् । उनीहरूलाई सम्मानजनक जीवन जिउने ‘दोस्रो अवसर’ प्रदान गर्न पाउँदा आफू खुसी रहेको उनले बताइन् ।