मनाङ । हिमाली जिल्ला मनाङमा भीषण पहिरो खसेपछि मर्स्याङ्दी नदीमा लेदोसहितको बाढी आउने जोखिम बढेको छ।
जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मर्स्याङ्दी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पहिरोका कारण मर्स्याङ्दी नदी पूर्ण रूपमा थुनिएको छैन। तर, ठूलो मात्रामा लेदो नदीमा मिसिएकाले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको हो।
पौडेलले नदी थुनिएको अवस्था नरहे पनि लेदोसहितको बाढी आउन सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सचेत रहन आग्रह गरेका छन्।
प्रशासनले नदी किनारमा अनावश्यक आवतजावत नगर्न तथा सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।






