वालिङ । अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण स्याङ्जा, पर्वत र गुल्मीको सीमामा रहेको सेतीवेणी बजार डुबानमा परेको छ ।
चार दिनदेखि निरन्तर परेको वर्षापछि नदी तथा खोलामा आएको बाढीले बजारका घर तथा संरचनामा क्षति पुर्याएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार स्याङ्जातर्फ गल्याङ नगरपालिका–५ मा मात्रै १७ घरमा बाढी पस्दा क्षति पुगेको छ ।
गल्याङ–५ का वडाध्यक्ष घनश्याम भट्टराईका अनुसार पर्वततर्फका नौ घरमा समेत बाढीले क्षति पुर्याएको छ । नदी तथा खोलाको बहाव गएराति करिब २ बजेदेखि बढेपछि स्याङ्जा र पर्वततर्फका प्रभावितलाई पर्वततर्फ रहेको शालिग्राम माध्यमिक विद्यालयको परिसरमा स्थानान्तरण गरिएको छ ।
विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावितका लागि तत्काल खानपान तथा बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष भट्टराईले बताए । बाढीबाट मानवीय क्षति नभए पनि केही पशुचौपाया बगाएको उनले जानकारी दिए ।
बाढीका कारण सेतीवेणी बजारको जनजीवन प्रभावित भएको छ । विश्वप्रसिद्ध विराट शालिग्राम शीलासमेत डुबानमा परेको छ ।
यसैबीच, कालीगण्डकी नदीमा आएको बाढीका कारण स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका सबै ढोका खोलिएको छ । बाढीको जोखिम बढेपछि आयोजनाको विद्युत् उत्पादनसमेत बन्द गरिएको छ ।
बाढीले आज बिहान मिर्मीमा स्याङ्जा र गुल्मीलाई जोड्ने मोटरेबल पुलसमेत बगाएको छ ।






