बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

गुल्मी । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहका २३१ घर उच्च जोखिममा परेका छन् । जोखिममा परेका केही परिवार आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार कालीगण्डकी गाउँपालिकाका १५, सत्यवती गाउँपालिकाका ३०, रुरुक्षेत्र गाउँपालिकाका ४०, मुसिकोट नगरपालिकाका १२ र रेसुङ्गा नगरपालिकाका २५ घर जोखिममा परेका छन् ।

त्यस्तै, गुल्मीदरबार गाउँपालिकाका पाँच, चन्द्रकोट गाउँपालिकाका ७०, धुर्कोट गाउँपालिकाका १५, इस्मा गाउँपालिकाका १२ र छत्रकोट गाउँपालिकाका सात घर पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक बोगटीले जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम जारी रहेको बताए । जोखिममा परेका तथा विस्थापित परिवारको संख्या थपिन सक्ने भएकाले घटनाको विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए ।

बाढीपहिरोका कारण जोखिममा परेका तथा विस्थापित परिवारलाई सम्बन्धित स्थानीय तहको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने काम भइरहेको प्रहरीले जनाएको छ ।