नयाँबसपार्कमा चाडपर्वलक्षित यात्रु सहायता कक्ष स्थापना

काठमाडौं -काठमाडौंको गोँगबुस्थित नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौं महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा आज नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

नयाँ स्थापना गरिएको यात्रु सहायता कक्षको आज काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले उद्घाटन गरेका हुन्। कार्यक्रममा उनले चाडपर्वमा अन्य समयको तुलनामा यात्रु धेरै बढ्ने भएकाले उनीहरूलाई सुरक्षित गन्तव्यमा पुर्‍याउनु सबैको दायित्व भएको बताए।

प्रहरी अतिरिक्त महानिरीक्षक राठौरले क्षणिक स्वार्थका लागि यात्रुलाई ठग्ने, लुट्ने, झुक्याउने गरेमा कारबाही हुने जनाउँदै यात्रुलाई पनि सावधानी अपनाउन आग्रह गरे। उनले सवारी सञ्चालनको बेलामा मापसे र लापसे नगर्न आग्रह गरे। टिकटको नाममा हुने कालोबजारी अन्त्य गर्न प्रहरी चनाखो हुने स्पष्ट पार्दै उनले यात्रुलाई टिकट लिएर यात्रा गर्न आग्रह गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुन्यप्रसाद सिटौलाले विगतको वर्षभन्दा यस वर्ष चाडपर्वमा यातायात सञ्चालनमा केही समस्या रहेका बताए। देशभर परेको अविरल वर्षाले अधिकांश राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा सवारी सञ्चालनमा समस्या परेको उनको भनाइ थियो।

अध्यक्ष सिटौलाले समस्याको घडीमा पनि सुरक्षित तबरले सवारी सञ्चालन गरेकामा देशभरका चालकलाई धन्यवाद दिए। उनले बिग्रेका सडक चाँडो मर्मत सम्भार गर्न सरकारलाई आग्रह गरे। अध्यक्ष सिटौलाले चाडपर्वमा कालो नम्बर प्लेटका सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने बताए। तोकिएकोभन्दा बढी भाडा नलिन उनले सबैलाई आग्रह गरेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले चाडपर्वको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न सबै लाग्नुपर्ने बताए। उनले चाडपर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको उनको भनाइ छ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपाध्यक्ष नवराज घिमिरेले चाडपर्वको मुखमा हुने दुर्घटना रोक्न यातायात क्षेत्रका चालकको महत्त्वपूर्ण भूमिका रहेको बताए। कार्यक्रममा प्रहरी, यातायात व्यवसायी, लोत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधि, चालक, सहचालक, महानगर प्रहरीको उपस्थिति थियो। रासस