काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठूलो राजनीतिक शक्ति उसको लामो इतिहास भएको बताएका छन्। कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनमा पुर्याएको योगदानको आफूले सम्मान गर्ने उल्लेख गर्दै उनले कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले आफू सत्तापक्षमा भए पनि उक्त कार्यक्रममा भने एक्लो प्रतिपक्षीजस्तो देखिएको टिप्पणी गरे। उनले आफू प्रायः एक्लै रहने गरेको भन्दै त्यसलाई राजनीतिक व्यंग्यसँग जोडेर प्रस्तुत गरे।
‘आज यो मञ्चको एक्लो प्रतिपक्षी भएछु। सत्तापक्ष तर यो मञ्चको एक्लो प्रतिपक्ष। प्रायः एक्लो हुने बानी पनि छ मलाई,’ उनले भने।
लामिछानेले कांग्रेसको लामो राजनीतिक इतिहासलाई उसको महत्वपूर्ण राजनीतिक पुँजीका रूपमा व्याख्या गरे। लोकतन्त्र स्थापना र राजनीतिक परिवर्तनका लागि कांग्रेसले खेलेको भूमिकाको सम्मान गर्दै उनले इतिहासबाट उपलब्धि मात्रै होइन, कमजोरीबाट समेत सिक्नुपर्ने बताए।
‘नेपाली कांग्रेसको शक्ति इतिहास हो। कमजोर पनि इतिहास हो। कांग्रेसको इतिहासबाट पाठ सिक्नैपर्छ। यसमा हामी पाठ सिकेर अगाडि बढ्नेछौँ,’ उनले भने।
उनले नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई राजनीतिक दलहरूले समयमै सम्बोधन गर्नुपर्ने बताए। कांग्रेसले नयाँ पुस्तालाई समयमै नेतृत्व र अवसर दिएको भए आफू पनि कांग्रेसमै हुन सक्ने सम्भावनातर्फ संकेत गर्दै लामिछानेले दलहरू बदलिँदो राजनीतिक पुस्तासँग जोडिनुपर्ने धारणा राखे।
भाषण, नारा र घोषणापत्रमा मात्रै सीमित राजनीति अब पर्याप्त नहुने उनको भनाइ थियो। जनताले राजनीतिक दलको काम र त्यसबाट प्राप्त परिणाम हेर्न थालेको उल्लेख गर्दै उनले आफूहरूले काम गर्न नसके निर्वाचनमार्फत जनताले निर्णय गर्ने बताए।
राष्ट्रिय हितका विषयमा भने दल र झन्डाको विभाजन गौण हुने उनले बताए। मुलुकको सवालमा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।
‘पार्टीको कुरा होइन, मुलुक र देशको कुरा आउँछ त्यतिबेला पार्टी र झन्डा फरक हुँदैन,’ उनले भने।
वर्तमान सरकार कमजोर भएको चर्चा हुने गरेको उल्लेख गर्दै लामिछानेले सरकार नढल्ने दाबी गरे। सरकार परिवर्तनको आधार राजनीतिक दलहरूको दबाब वा चर्चाभन्दा जनताको मत र निर्वाचन हुनुपर्ने उनको भनाइ थियो।
‘सरकार कमजोर भयो भन्ने पनि सुनिन्छ। यो सरकार ढल्दैन, नढलेपछि अरू ढल्छन्,’ उनले भने।
लोकतन्त्रको ठेक्का कुनै एक दलले लिन नहुने भन्दै लामिछानेले लोकतन्त्र संकटमा परे जनताले नै त्यसको रक्षा गर्ने बताए। आफूहरूलाई हटाउने वा विस्थापित गर्ने अधिकार पनि निर्वाचनमार्फत जनतामै रहेको उनले स्पष्ट पारे।
‘लोकतन्त्रको ठेक्का नलिनुस्, लोकतन्त्र खतरामा परे जनताले जोगाउँछन्,’ उनले भने, ‘हामीलाई हटाउन, विस्थापन गर्न चुनावले मात्रै सक्छ।’
निर्वाचनबाट प्राप्त जनमतलाई भ्रमित पारेर जनताको निर्णयको अपमान नगर्न पनि उनले आग्रह गरे। आफूहरूले काम गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार गर्न सक्ने भन्दै त्यसलाई स्वीकार गर्न तयार रहेको उनले बताए।
‘हामीले काम गर्न सकेनौँ भने हामीलाई डाँडो कटाउनुस् भनेकै छौँ,’ लामिछानेले भने।
बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रका मूल्य र मान्यतालाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले राजनीतिक परिवर्तनको रक्षा सबैको साझा जिम्मेवारी भएको बताए।
कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ चरण सुरु भएको उल्लेख गर्दै लामिछानेले कांग्रेसले आफ्नो इतिहासबाट सिक्दै नयाँ पुस्ताको अपेक्षा, बदलिँदो राजनीतिक परिस्थिति र जनताको चाहनाअनुसार अघि बढ्नुपर्ने बताए।






