काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा पटक–पटक उही अनुहार दोहोरिने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री, मन्त्री र पार्टी नेतृत्वमा रहेका व्यक्तिहरूले निरन्तर पद दोहोर्याउने प्रवृत्तिले जनतामा सबै राजनीतिक दल र नेता उस्तै हुन् भन्ने धारणा बनेको बताए।
‘म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने,’ थापाले भने, ‘यसले सबै पार्टी र नेता सबै एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो।’
उनका अनुसार लामो समयदेखि बढ्दै आएको यस्तो प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाउँदै लगेको थियो। असन्तुष्टि विस्तारै ‘भुसको आगो’ जस्तै फैलिँदै गएर भदौ २३ र २४ गतेको घटनाका रूपमा प्रकट भएको उनले बताए।
‘यो भुसको आगोले सबैलाई एकैपटक खायो,’ थापाले भने।
थापाले नेपाली समाजका विभिन्न क्षेत्रमा अत्यधिक राजनीतिकरण भएको पनि बताए। सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म हरेक विषयलाई राजनीतिक दृष्टिकोणबाट हेर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो।
‘फेसबुकदेखि ट्विटरदेखि सबै क्षेत्रमा राजनीति हुन्छ। फेरि जनता हाइपर पोलिटिक्सतिर गयो। जे भए पनि राजनीतिको आँखाले हेर्न थालियो,’ उनले भने।
दुई ठूला दल मिलेर बनेको दुईतिहाइको सरकार र त्यसको कार्यशैलीबारे जनतासँग पर्याप्त संवाद हुन नसकेको थापाले बताए। राजनीतिक दलहरूले बदलिँदो जनभावना र बढ्दो असन्तुष्टिलाई समयमै बुझ्न नसक्दा भदौ २३ र २४ गतेको परिस्थिति सिर्जना भएको उनको भनाइ थियो।
‘दुई पार्टी मिलेर बनेको थियो दुईतिहाइको सरकार। सबैले थाहै पाएनन्, जसका कारण भदौ २३ र २४ आयो,’ उनले भने।
भदौ २३ र २४ गतेको घटनाबाट कांग्रेससहित अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि प्रभावित भएको थापाले बताए। त्यसपछि आफूहरू सम्हालिनुपर्ने निष्कर्षसहित कांग्रेस विशेष महाधिवेशनमा गएको उनले स्मरण गरे।
‘यहीँ हामीले बुझेनौँ। यसले कांग्रेस र अन्य पार्टीका नेता र कार्यकर्ता पनि भिक्टिम भए। तर पनि हामी सम्हालिनुपर्छ भनेर विशेष महाधिवेशनमा गयौँ,’ थापाले भने।
विशेष महाधिवेशनपछि कांग्रेस निर्वाचनमा गए पनि परिणाम आफ्नो पक्षमा आउन नसकेको उनले बताए। कांग्रेसले विगतमा विभिन्न निर्वाचनमा हार–जित व्यहोर्दै आएको उल्लेख गर्दै थापाले अहिले पार्टी नयाँ महाधिवेशनको चरणमा प्रवेश गरेको बताए।
‘त्यसपछि चुनावमा गयौँ, तर हाम्रो पक्षमा आएन। कांग्रेसले धेरै चुनावमा हार्ने र जित्ने गरेको छ। अब नयाँ महाधिवेशनमा अहिले होमिएका छौँ,’ उनले भने।
थापाले १५औँ महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्दै कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए। जनतामा बढेको राजनीतिक वितृष्णा र राजनीतिक दलप्रतिको अविश्वास चिर्न कांग्रेसले आफ्नो नेतृत्व, व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए।






