देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनस्थलमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले देउवालाई महाधिवेशनमा ल्याउन पार्टीका नेताहरू कति पटक र कसरी जाने भन्ने प्रश्न उठाए।

‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ। तर आउनुभएन। कति पटक जाने हो, लिन कसरी जाने हो?’ थापाले भने।

थापाले कांग्रेसबाट केही नेताहरू बाहिरिएको उल्लेख गर्दै उनीहरू पार्टी छाडेर गएका हुन् वा कांग्रेसले नै उनीहरूलाई छाडेको हो भन्ने विषयमा पनि स्पष्ट हुनुपर्ने बताए।

‘केही साथीहरू छोडेर जानुभएको छ। उहाँहरूलाई कांग्रेसले छाडेको हो। यो पनि हामीले भन्नुपर्ने छ। यसको उत्तर अब दिनुपर्छ,’ उनले भने।

नयाँ नेतृत्वसँगै कांग्रेसले विगतका विषयमा समीक्षा गर्दै आगामी बाटो स्पष्ट बनाउनुपर्ने थापाको भनाइ थियो। उनले पार्टीभित्र रहेका सबैलाई समेट्दै बाहिरिएका नेताहरूका विषयमा समेत स्पष्ट धारणा बनाएर अघि बढ्नुपर्ने संकेत गरे।