बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएपछि आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म राजमार्ग बन्द गरिने भएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले सूचना जारी गर्दै गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा त्रिशूली नदीको कटानका कारण सडक भासिएकाले मर्मतसम्भारका लागि सवारी आवागमन बन्द गर्न लागिएको जानकारी दिएकी छन् ।

गत असोज २३ गते शुक्रबार सडक भासिएपछि उक्त राजमार्ग अवरुद्ध भएको थियो । असोज २४ गते दिनभरको प्रयासपछि सडक सञ्चालनमा ल्याइए पनि थप मर्मतसम्भार आवश्यक भएकाले पुनः रातिको समयमा आवागमन बन्द गर्न लागिएको हो ।

दसैँको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा यात्रु तथा यातायात व्यवसायीलाई समस्या पर्ने देखिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले चाडपर्वका बेला राजमार्ग बन्द हुँदा सवारी आवागमनमा चुनौती थपिएको बताए ।

“दसैँको मुखमा हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । यस्तो अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायीसँगै आम यात्रुलाई समस्या परेको छ,” उनले भने ।

दसैँ मनाउन असोज १७ देखि २५ गतेसम्म काठमाडौँको नयाँबसपार्कबाट दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन् । नयाँबसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार उक्त अवधिमा नयाँबसपार्कबाट मात्रै सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् ।