पेशावर । उत्तरपश्चिम पाकिस्तानको पेशावरस्थित एक निजी विद्यालयको छाना खस्दा २७ विद्यार्थी र एक शिक्षक गरी २८ जनाको मृत्यु भएको छ।
बिहीबार बिहान भएको दुर्घटनामा अन्य १९ जना घाइते भएका छन्। भग्नावशेषमुनि अझै केही विद्यार्थी पुरिएको आशङ्कामा उद्धार कार्य जारी रहेको जनाइएको छ।
घटनाप्रति पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले गहिरो दुःख व्यक्त गरेका छन्। उनले जारी गरेको विज्ञप्तिमा भविष्यका कर्णधार बालबालिकाको बहुमूल्य जीवन गुमेको घटनाप्रति शोक प्रकट गरेका छन्।
करिब २४ करोडभन्दा बढी जनसङ्ख्या रहेको पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोगका कारण भवन तथा छाना भत्किने घटना बारम्बार हुने गरेका छन्।
यसअघि यसै वर्षको जुन महिनामा पूर्वी सहर लाहोरस्थित एक ट्युसन केन्द्रको छाना खस्दा एक दर्जनभन्दा बढी बालबालिकाको मृत्यु भएको थियो। त्यस्तै, सन् २०२५ मा दक्षिणी सहर कराँचीको लियारी क्षेत्रमा पाँचतले भवन भत्किँदा २७ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए।
पेशावरको घटनापछि प्रहरीले विद्यालय भवन भत्किनुको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ। उद्धारकर्मीले भग्नावशेषमा पुरिएका सम्भावित पीडितको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्।






