काठमाडौँ । बडादसैँअन्तर्गत दुर्गा पक्षको छैटौँ दिन आज देशभरका दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्ये छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विशेष पूजा गर्ने चलन छ । धार्मिक मान्यताअनुसार देवताहरूको कार्य सिद्ध गर्न भगवती देवी कात्यायन ऋषिको आश्रममा सुन्दरी कन्याका रूपमा अवतरित भएकी थिइन् । उनको बालसौन्दर्यबाट प्रभावित ऋषिले पुत्रीका रूपमा स्वीकार गरेकाले उनको नाम कात्यायनी रहेको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख छ ।
कात्यायनी देवीलाई दानवको संहार गर्ने शक्तिस्वरूपाका रूपमा वर्णन गरिएको छ । विभिन्न धार्मिक ग्रन्थमा उनको स्वरूप, वाहन तथा आयुधबारे उल्लेख गरिएको पाइन्छ । नवरात्रको छैटौँ दिन भक्तजनले यिनै देवीको आराधना गरी सुख, शान्ति, समृद्धि र शक्तिको कामना गर्ने गर्छन् ।
नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँ घर तथा पूजा कोठामा वैदिक विधिअनुसार घटस्थापना गरी जमरा राखिएको थियो । त्यस दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाता देवीको पूजा गरिएको थियो ।
आज छैटौँ दिन कात्यायनी देवीको पूजा गरिँदैछ । नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ । देवीको विधिपूर्वक पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यही मान्यताका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
नवरात्रका नौ दिन पूजा आराधना गरेपछि प्रसादस्वरूप जमरा र टीका लगाउने प्रचलन छ । देशका अधिकांश भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाइन्छ भने कतिपय स्थानमा कुल परम्पराअनुसार विजयादशमीका दिन मात्रै लगाउने गरिन्छ ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार शास्त्रीय मान्यताअनुसार दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रूपमा टीका र जमरा लगाउन सकिन्छ । यसअनुसार नेपालीले १५ दिनसम्म बडादसैँ पर्व उल्लासपूर्वक मनाउने गर्छन् ।
दुर्गा पक्षका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । यी नौ स्वरूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजाआराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी र बगलामुखीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ ।
त्यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ ।






