आईसीसीबाट एनपीएल क्रिकेटलाई आधिकारिक मान्यता

काठमाडौं । नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक टी–२० मान्यता प्राप्त गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलले आईसीसीबाट आधिकारिक मान्यता पाएको जानकारी दिएको हो।

आईसीसीबाट मान्यता प्राप्त गरेसँगै एनपीएलका फ्रेन्चाइज टोलीहरूलाई विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुने भएको छ। यसअघि आईसीसीले एनपीएलको एक संस्करणमा टेस्ट राष्ट्रका बढीमा चार जना खेलाडी मात्र अनुबन्ध गर्न पाउने अनुमति दिएको थियो।

अब भने विदेशी खेलाडी अनुबन्ध गर्ने संख्यामा कुनै सीमा नलाग्ने भएपछि फ्रेन्चाइज टोलीहरूले आफ्नो आवश्यकताअनुसार विदेशी खेलाडी भित्र्याउन सक्नेछन्। यसले एनपीएलको प्रतिस्पर्धात्मक स्तर थप उकास्नुका साथै अन्तर्राष्ट्रिय क्रिकेट जगतमा प्रतियोगिताको आकर्षण बढाउने अपेक्षा गरिएको छ।