काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताभर डीआरएस लागू गर्ने निर्णय गरेको जनाएको हो।
क्यानका अनुसार सिद्धार्थ बैंक एनपीएलको तेस्रो संस्करण सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
डीआरएस लागू भएपछि खेलाडीले मैदानमा रहेका अम्पायरको निर्णयप्रति असहमति जनाउँदै पुनरावलोकनको माग गर्न सक्नेछन्। विशेषगरी एलबीडब्लू र क्याचसम्बन्धी निर्णयको समीक्षा गर्न यो प्रविधि उपयोगी हुनेछ। यसले अम्पायरको निर्णयलाई थप पारदर्शी र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
क्यानले प्रतियोगिताको खेल तालिकासमेत संशोधन गरेको छ। संशोधित तालिकाअनुसार एकै दिन दुई खेल हुने अवस्थामा पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ।
त्यस्तै, एक दिनमा एउटा मात्र खेल हुने अवस्थामा उक्त खेल साँझ ५ बजेबाट सञ्चालन गरिने क्यानले जनाएको छ।






