काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको हो ।
कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे । यस्तै, पवन सर्राफले ३७ बलमा ३७ रनको योगदान दिए ।
कर्णालीले सुरुवातदेखि नै लगातार विकेट गुमाएको थियो । पहिलो ओभरको अन्तिम बलमा मार्क वाट एक रन बनाएर आउट भए । चार रनमा पहिलो विकेट गुमाएको कर्णालीले थप १४ रन जोड्दा दोस्रो विकेट गुमायो ।
जनकपुरका लागि डेब्यु गरेका आइकोनिक खेलाडी राहुल यादवले पहिलो बलमै विकेट लिँदै दीपक डुम्रेलाई १३ रनमा पभेलियन फर्काए । कर्णालीले ३७ रन बनाउँदा हुसेन तलत तीन रनमा आउट भएपछि टोली थप दबाबमा परेको थियो ।
त्यसपछि पवन सर्राफ र अरिफुल इस्लामले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्दै कर्णालीको इनिङ्स उकास्ने प्रयास गरे । तर, अरिफुल ४३ र पवन ३७ रन बनाएर आउट भएपछि कर्णालीको रनगति फेरि सुस्ताएको थियो ।
त्यसपछि अक्बर अली र कप्तान सोमपाल कामीले समान एक रन बनाए । गुल्सन झाले १२ रन तथा नन्दन यादवले नौ रन जोडे । युवराज खत्री र युनिश ठकुरी अविजित रहे ।
जनकपुरका कप्तान हर्मीत सिंहले सर्वाधिक तीन विकेट लिए । मोइन अली र राहुल यादवले समान दुई विकेट लिँदा ललित राजवंशीले एक विकेट हात पारे ।






