काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुर आज जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्न चाहन्छ । यता, प्रतियोगितामा पहिलो खेल खेल्न लागेको काठमाडौं गोर्खाज जितसहित सुखद सुरुवात गर्ने योजनामा छ ।
त्यस्तै, आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको कर्णाली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । उता, पहिलो खेलमा चितवन राइनोजसँग ८ विकेटले पराजित भएको विराटनगर प्रतियोगितामा पहिलो जितको खोजीमा मैदान उत्रिनेछ ।






