तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातका कारण सम्भावित विपद्को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई आधार मान्दै प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशका विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाएको छ।

यतिबेला झापाका किसान पाकेको धान भित्र्याउन व्यस्त छन्। तर, प्रतिकूल मौसमको सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले तत्काल धान नकाट्न तथा काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न अनुरोध गरेको छ।

सम्भावित भारी वर्षाका कारण सडक तथा हवाई यातायात र दैनिक जनजीवन प्रभावित हुनसक्ने प्रशासनले जनाएको छ। त्यसैले सर्वसाधारणलाई लामो दूरीको यात्रा नगर्न र वर्षा भइरहेका बेला सवारीसाधन नचलाउन आग्रह गरिएको छ।

त्यसैगरी, अचानक बाढी आउनसक्ने खहरे खोला तथा नदी आसपासमा यात्रा नगर्न, खोला किनारमा माछा मार्ने र दाउरा सङ्कलन गर्नेजस्ता जोखिमपूर्ण गतिविधिबाट टाढा रहन प्रशासनले अनुरोध गरेको छ।

प्रशासनले भ्रामक सूचनाको पछि नलाग्न र मौसमसम्बन्धी जानकारीका लागि आधिकारिक निकायबाट जारी हुने पूर्वानुमान तथा सूचनालाई मात्र आधार मान्न सर्वसाधारणलाई आग्रह गरेको छ।

चक्रवातबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले बुधबार सुरक्षा निकाय तथा नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिसँग आकस्मिक बैठकसमेत गरेको जनाएको छ।

बैठकपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै धनजनको क्षति रोक्न आवश्यक सतर्कता अपनाइएको बताए। उनले स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइसकिएको जानकारी दिए।