काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहार राज्य भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटबाट रु ८९ लाख ८१ हजार ७२९ बराबरको कारोबार गरेको खुल्न आएको छ । निजलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ । रासस






