काठमाडौँ । नइ एकेडेमी, अस्ट्रेलियाले नेपाली समुदायको उत्थान, नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण र सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई विभिन्न १४ विधामा ‘नइ उत्कृष्ट पुरस्कार’ प्रदान गरेको छ ।
अस्ट्रेलियामा नेपाली समुदायको विकास र सामाजिक रूपान्तरणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको नइ एकेडेमीले जनाएको छ ।
बहुसांस्कृतिक नेतृत्व तथा सामुदायिक विकास विधामा डा. कृष्ण हमाल र मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी सचेतना विधामा भरत नेपाल पुरस्कृत भएका छन् ।
नइ एकेडेमी, अस्ट्रेलियाका संस्थापक तथा अध्यक्ष सीमा रोशीका अनुसार नेपाली र अस्ट्रेलियाली समुदायको विकासमा योगदान पुर्याएबापत सञ्जीवकुमार शर्मालाई ‘नइ उत्कृष्ट पुरस्कार’ प्रदान गरिएको छ ।
नेपाली साहित्यमा उत्कृष्ट लेखनका लागि प्रकाश पन्थीलाई ‘नइ पारिजात पुरस्कार’ प्रदान गरिएको छ भने सञ्चारका माध्यमबाट सामुदायिक सम्बन्ध सुदृढ बनाउन योगदान पुर्याएको भन्दै डा. भरत पौडेललाई सम्मान गरिएको छ । त्यस्तै, मानवसेवा अस्ट्रेलियालाई एक हजार अस्ट्रेलियन डलर राशिको ‘नइ मानवसेवा पुरस्कार’ प्रदान गरिएको छ ।
पत्रकारिता तथा सांस्कृतिक सम्पदा संरक्षणमा योगदान पुर्याएको भन्दै आचार्य राजन शर्मालाई पनि नइ पुरस्कार प्रदान गरिएको छ । संस्थागततर्फ नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया इन्कलाई उत्कृष्ट सामुदायिक संस्थाका रूपमा सम्मान गरिएको छ । पश्चिमी अस्ट्रेलियामा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा नेपाली समुदायको सशक्तीकरणमा संस्थाले पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।
यसैगरी, बहुभाषिक पत्रकारिता तथा सांस्कृतिक सम्पदा संरक्षण विधामा डा. राजु मानन्धर, सामुदायिक सेवा तथा विकास विधामा प्रकाश पौडेल र महिला सशक्तीकरण तथा नेतृत्व विधामा उषाकिरण बरिया पोखरेल पुरस्कृत भएका छन् ।
सङ्गीततर्फ नेपाली साङ्गीतिक सम्पदाको प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै निशा केसीलाई सम्मान गरिएको छ । त्यसैगरी, ‘द भ्वाइस अफ नेपाल’ बाट चर्चामा आएका उदाउँदा गायक तथा सङ्गीतकर्मी ‘तिखतार’ लाई पनि पुरस्कृत गरिएको छ ।
नेपाली समुदायको विकास र उन्नतिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै राजकुमार भण्डारीलाई समेत ‘नइ पुरस्कार’ प्रदान गरिएको एकेडेमीले जनाएको छ ।






