एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजदेखि प्लेअफ चरणका खेल सुरु हुँदैछन्। प्लेअफको पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। लगातार दोस्रो पटक फाइनलमा पुग्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रने तयारीमा छन्।

गत संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच नै प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। यस संस्करणको उद्घाटन खेलमा समेत लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो।

त्यसैले आजको खेलमा लुम्बिनी आफ्नो विजयी यात्रालाई निरन्तरता दिने योजनामा छ भने सुदूरपश्चिम अघिल्ला दुई हारको बदला लिँदै फाइनलमा पुग्न चाहन्छ।

पहिलो क्वालिफायर जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीको उपाधि यात्रा भने समाप्त हुने छैन। उसले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्दै फाइनल प्रवेशको अर्को अवसर पाउनेछ।

लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ७ खेलबाट ५ जित, १ हार र वर्षाका कारण रद्द भएको एक खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको हो। लुम्बिनी काठमाडौं गोर्खाजसँग मात्र पराजित भएको थियो। चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए।

यता सुदूरपश्चिमले ७ खेलबाट ५ जित र २ हारसहित १० अंक जोड्दै दोस्रो स्थानमा रहेर प्लेअफमा स्थान सुरक्षित गरेको हो। सुदूरपश्चिम लुम्बिनी लायन्स र विराटनगर किंग्ससँग पराजित भएको थियो।

दुवै टोली पहिलो क्वालिफायर जितेर उपाधि भिडन्तमा स्थान सुरक्षित गर्ने दाउमा छन्।

यसैगरी, प्लेअफअन्तर्गत भोलि हुने इलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।