इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गर्दै राजधानी वासिङ्टन डीसीमा ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने योजना बनाइरहेको अमेरिकी गुप्तचर निकायको नयाँ सूचनाले देखाएको छ ।

सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार इरानले सम्भावित आक्रमणका लागि लक्षित व्यक्ति तथा स्थान पहिचान गर्नुका साथै विभिन्न वैकल्पिक योजना तयार गरिरहेको छ । यद्यपि, तत्कालै आक्रमण हुने सम्भावनाको संकेत भने नरहेको अधिकारीहरूले बताएका छन् ।

गुप्तचर सूचनामा आक्रमण हुन सक्ने सम्भावित स्थान र लक्षित व्यक्तिहरूको समेत विस्तृत विवरण समेटिएको जनाइएको छ । यसले अमेरिकी सुरक्षा निकायलाई सम्भावित जोखिमप्रति सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न प्रेरित गरेको छ ।

सीएनएनसँग कुरा गर्दै एक अमेरिकी अधिकारीले आक्रमणका लागि आवश्यक जनशक्ति इरानले अमेरिकाभित्रै परिचालन गर्न सक्ने अवस्था छ वा छैन भन्ने विषयमा गुप्तचर अधिकारीहरूबीच मतभेद रहेको बताएका छन् ।

अमेरिकी गुप्तचर निकायले अमेरिकाभित्र बम निर्माणमा प्रयोग हुन सक्ने सामग्री लुकाइएको इरानी दाबीसँग सम्बन्धित सूचना पनि अवरोध गरी प्राप्त गरेको सीएनएनले जनाएको छ । तर उक्त सूचनाको विश्वसनीयताबारे अमेरिकी अधिकारीहरूबीच एकमत छैन ।

इरानले आणविक वा रासायनिक पदार्थ अमेरिकाभित्रै लुकाएर राखेको हुन सक्ने र त्यसलाई परम्परागत विस्फोटक पदार्थसँग मिसाएर ‘डर्टी बम’ निर्माण गर्न सक्ने सम्भावनालाई पनि अधिकारीहरूले नकारेका छैनन् ।

एक अमेरिकी अधिकारीका अनुसार डर्टी बम कुनै एक व्यक्तिलाई मात्र लक्षित गर्ने हतियार नभई व्यापक आतंक सिर्जना गर्ने माध्यम हो । यस्तो हतियारको प्रयोगले मानिसलाई गम्भीर बिरामी बनाउन तथा प्रभावित क्षेत्रलाई बसोबासका लागि अनुपयुक्त बनाउन सक्ने उनको भनाइ छ ।

यसैबीच, मध्यपूर्वमा बढ्दो तनावका क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार बहराइनका विदेशमन्त्री अब्दुललतिफ बिन रसिद अल जायनीसँग छलफल गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार रुबियोले बहराइनमाथि इरानले गरेका आक्रमणको निन्दा गर्दै बहराइनसहित खाडी क्षेत्रका साझेदार मुलुकहरूको सुरक्षाप्रति अमेरिकाको प्रतिबद्धता दोहोर्‍याएका छन् ।

वार्ताका क्रममा दुवै पक्षले अमेरिकाको प्रमुख गैरनेटो सहयोगी राष्ट्रको हैसियत प्राप्त बहराइनसँगको दीर्घकालीन रणनीतिक साझेदारी तथा व्यापक सुरक्षा एकीकरण र समृद्धि सम्झौता (सी–सिपा)प्रतिको प्रतिबद्धता पनि दोहोर्‍याएका छन् ।

उता, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग जारी द्वन्द्व लामो समयसम्म नलम्बिने बताएका छन् । सोमबार फक्स न्युजसँगको कुराकानीमा उनले अमेरिकाले मध्यपूर्वमा दीर्घकालीन सैन्य प्रतिबद्धता राख्ने योजना नरहेको स्पष्ट पारेका हुन् ।

इरानको आणविक कार्यक्रम अमेरिकाका लागि खतरा रहेको उल्लेख गर्दै भान्सले अमेरिका १०–१५ वर्ष मात्र नभई दुई वर्षसम्म पनि यस द्वन्द्वमा अल्झिएर बस्न नचाहेको बताए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वलाई अनुकूल परिणामसहित अन्त्य गर्ने विश्वास व्यक्त गर्दै भान्सले लामो समयसम्म युद्धमा संलग्न नहुने प्रशासनको नीति रहेको दोहोर्‍याएका छन् ।

(एएनआई)