काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली आइपुगेका छन्। गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको यो उनको पहिलो राजकीय भ्रमण हो। प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए।
प्रधानमन्त्रीको ३५ सदस्यीय औपचारिक टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकारहरू र उच्चपदस्थ अधिकारीहरू छन्। भ्रमण टोलीमा ५२ उद्योगी व्यवसायी र दुई दर्जनभन्दा बढी पत्रकार पनि सहभागी छन्। आइतबार साँझ भारतीय विदेशमन्त्री एस जयशंकरले होटल ताज पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका छन्।
प्रधानमन्त्री शाहको आजको कार्यतालिका अनुसार बिहान १० बजे राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत कार्यक्रम छ। त्यसपछि उनी राजघाटस्थित गान्धी समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच हैदराबाद हाउसमा मध्याह्न १२ बजेर २५ मिनेटमा भेटवार्ता हुनेछ। भेटपछि दुई पक्षीय सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय गरिएको छ। दिउँसो ३ बजेर १५ मिनेटमा भारतीय राष्ट्रपति द्राैपदी मुर्मुसँग भेट गरेपछि प्रधानमन्त्री शाह ४ बजेर ५० मिनेटमा स्वदेश फर्कनेछन्।
भ्रमणका क्रममा ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार र हवाई प्रवेशमार्गलगायतका विषयमा छलफल हुनेछ। दुई देशबिच सम्पर्क सञ्जाल र ऊर्जा सहकार्यसम्बन्धी परियोजनाहरूको उद्घाटन तथा शिलान्यास गर्ने कार्यक्रम छ। शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदजस्ता क्षेत्रमा समेत विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपीन आचार्यले भ्रमणले दुई देशबिचको ऐतिहासिक सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। यता, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपालको दीर्घकालीन हितलाई केन्द्रमा राखेर द्विपक्षीय विषयहरूमा स्पष्ट अडान राख्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। प्रधानमन्त्री स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।






