खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय महिलाले गाउँघरमै खेर गइरहेका वनस्पति प्रयोग गरेर साबुनलगायत नौ प्रकारका सरसफाइ सामग्री उत्पादन गर्न थालेका छन्।
स्थानीयस्तरमा सहजै पाइने घिउकुमारी, तितेपाती, पुदिना, तुलसीलगायत वनस्पतिलाई कच्चा पदार्थका रूपमा प्रयोग गरी महिलाले लुगा धुने साबुन, हर्बल मुख धुने साबुन, हात धुने झोल साबुन, एरियल तथा सामान्य सरफ, हर्पिक, कोलिन, लाइजोल र फिनेल उत्पादन गरिरहेका छन्।
स्थानीय महिलालाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यले हलेसी तुवाचुङ नगरपालिकाले गत वैशाखमा निःशुल्क आधारभूत तालिम सञ्चालन गरेको थियो। गाउँघरमै खेर गइरहेका वनस्पतिबाट विभिन्न सरसफाइका सामग्री उत्पादन गर्न सकिने सीप सिकेपछि महिलाले व्यावसायिक उत्पादनसमेत सुरु गरेका हुन्।
तालिममा सहभागी स्थानीय महिला रेनुका चाम्लिङका अनुसार अहिले महिलाले उच्चस्तरको तालिम लिएपछि लुगा धुने र मुख धुने साबुन उत्पादन गरी बिक्री गर्न थालेका छन्।
यसअघि नगरपालिकाले सञ्चालन गरेको अचार बनाउने तालिममा समेत सहभागी रेनुका अहिले अचार र साबुन दुवै उत्पादन गरेर आम्दानी गरिरहेकी छन्। नगरपालिकाले उपलब्ध गराएको निःशुल्क तालिमले घरायसी काममा सीमित महिलालाई उद्यमी बन्न प्रेरित गरेको छ।
तालिमबाट सिकेको सीपलाई व्यावसायिक रूपमा अघि बढाउन थालेका नौ जना महिलालाई नगरपालिकाले पुनः एडभान्स तालिम प्रदान गरेको उद्यम विकास सहजकर्ता सुरेश धामीले जानकारी दिए।
स्थानीय महिलाले उत्पादन गरेका साबुनलगायत सरसफाइका सामग्री नगरपालिकाभित्रका सबै सरकारी कार्यालय र विद्यालयमा अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको नगरप्रमुख विमला राईले बताइन्।
“उद्यमशील बन्न चाहने नागरिकलाई नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको छ। साबुन उत्पादन गर्न सुरु गरेका महिलालाई ढुक्क भएर अगाडि बढ्न आग्रह गरेका छौँ”, उनले भनिन्, “बजारीकरणको चिन्ता लिनुपर्दैन। उद्यमीलाई आवश्यक पर्ने कच्चा पदार्थ ढुवानीमा समेत नगरपालिकाले सहयोग गर्दै आएको छ।”
नगरपालिकाबाट प्राप्त एडभान्स तालिमले उत्पादनको गुणस्तर सुधार र ब्रान्डिङलाई व्यवस्थित बनाउन सहयोग पुगेको उद्यमी महिलाको भनाइ छ। गुणस्तर र बजार व्यवस्थापनमा सुधार हुँदै जाँदा उपभोक्ताबाट मागसमेत बढ्ने उनीहरूको विश्वास छ।
महिलाले ‘हलेसी प्रगतिशील महिला लघु उद्यमी समूह’ गठन गरेर सामूहिक रूपमा साबुन तथा अन्य सरसफाइका सामग्री उत्पादन गरिरहेका छन्।
विश्वप्रसिद्ध धार्मिकस्थल हलेसीसमेत रहेको यस नगरपालिकामा उत्पादित सामग्रीको बजार व्यवस्थापन सहज हुने स्थानीय व्यवसायीको भनाइ छ। दैनिक ठूलो सङ्ख्यामा भक्तजन तथा दर्शनार्थी आउने हलेसी क्षेत्रमा यसअघि बाहिरबाट आयात गरिएका सरसफाइ सामग्री प्रयोग हुँदै आएको थियो।
आफ्नै ठाउँका महिलाले उत्पादन गरेका सामग्री उपयोग गर्न पाउँदा स्थानीय उपभोक्ता तथा व्यवसायीलाई सहज भएको नगरप्रवक्ता कमल गिरीले बताए।






