पुजारी हत्या आरोपमा भारतीय पक्राउ, अपराध स्वीकार गरेको प्रहरीको भनाइ

कात्तिक ३०, नवलपरासी ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ मा भएको पुजारी मृत्यु प्रकरणमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

स्थानीय एक मन्दिरमा पुजारीको काम गर्ने ७२ वर्षका महगु केबट मन्दिर नजिकै नारायणी नदी किनारमा कात्तिक ९ गते मृत अवस्थामा भेटिएका थिए । घटना शंकास्पद भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा पुजारीको भारत महाराजगन्जका २१ वर्षका धनन्जय मौर्यले हत्या गरेको खुलासा भएको पश्चिम नवलपरासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए । पक्राउ परेका मौर्यले पुजारीको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।

मौर्यलाई जिल्लाको प्रतापपुर गाउँपालिका ६ कठहवाबाट पक्राउ गरिएको हो । पक्राउ परेका अभियुक्तलाई तिहार बिदापछि जिल्ला अदालत परासीमा पेस गरिने प्रहरीले जनाएको छ ।