कात्तिक ३०, जनकपुरधाम ।
सञ्चय कोषको रकम र अन्य सुविधा नदिँदै सेवाबाट अवकाश दिएको भन्दै जानकी मेडिकल कलेजका दुई जना कर्मचारी १३ दिनदेखि आमरण अनशनमा छन् ।
धनुषाको रमदैयास्थित मेडिकल कलेज परिसरमै रहेको सरस्वती मन्दिरमा आठ दिन अनशन बसेका दुवै कर्मचारीको स्वास्थ्य अवस्था कमजोर भएपछि जनकपुरस्थित प्रादेशिक अस्पतालको आईसीयू कक्षमा भर्ना गरिएको छ ।
६ वर्षको सञ्चय कोषको रकम, दसैंखर्च र आठ महिनाको तलब भुक्तानी नगरेको भन्दै कलेजका सुरक्षा विभागका इन्चार्ज जानकीशरण यादव र पारा मेडिकलका कर्मचारी कुलदीप साहले कात्तिक १६ देखि आमरण अनशन थालेका हुन् ।
उनीहरूको स्वास्थ्य अवस्था झन् बिग्रँदो छ । शुक्रबार अपराह्न आईसीयूमा उपचाररत रहेका साहले भने, ‘भित्रैबाट कमजोरी महसुस भइरहेको छ । जीउ बाउँठिएको जस्तो छ, बेलाबेला काँप्छ ।’
उनीहरूलाई प्रहरीले अनशनस्थलबाटै बलपूर्वक उठाएर अस्पतालको आईसीयूमा भर्ना गराएको थियो । ‘प्रहरीले जबर्जस्ती उठाएर गाडीमा राख्यो,’ साहले भने, ‘घचेट्दै अस्पतालको इमरजेन्सीमा राखेर प्रहरी हिँड्यो । पछि आईसीयूमा लगियो ।’
कलेजको इसारामै प्रहरीले अनशनस्थलबाट हटाएको साहको आरोप छ । धनुषा प्रहरीले भने अनशनरत दुवैको पिसाबमा खराबी देखिएपछि कलेज प्रशासनको आग्रहमा अस्पताल भर्ना गराइएको जनाएको छ ।
अनशनका क्रममा उनीहरूलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, संघीय सांसद सुरेन्द्र यादव, नेपाली कांग्रेसका नेता चन्द्रमोहन यादवलगायतले भेटेर समस्या समाधान गर्ने आवश्वासन दिएका थिए । तर अहिलेसम्म कलेज प्रशासनले कुनै सुनुवाइ नगरेको साहको भनाइ छ ।
‘अन्न त के, १३ दिनदेखि पानी पनि खाएको छैन,’ साहले भने, ‘ज्यानै जोखिममा परे पनि हाम्रो कुरा सुनिदिने कोही भएन ।’
यसबीचमा कलेजका तर्फबाट कोही पनि सोधखोज गर्न नआएको उनले बताए । कलेजले यसै साता पत्रकार सम्मेलन गरी कर्मचारीहरूलाई नियमपूर्वक हटाइएको र चित्त नबुझे कानुनी प्रक्रिया रोज्न खुला रहेको बताएको थियो ।
कलेजको कर्मचारी संघर्ष समितिका संयोजक उमेश यादव भने कलेजले उनीहरूलाई अन्यायपूर्वक जागिरबाट हटाएको दाबी गर्छन् । ‘तलब पनि दिँदैन । भएको जागिरबाट पनि बिनाकारण हटाइदिन्छन्,’ संयोजक यादवले भने, ‘जागिरबाटै हटाउँदा कारण त बताइदिनुपर्छ नि ! जति बेला मन लाग्यो हटाइदिने क्रम बन्द हुनुपर्छ ।’
समितिका अनुसार मेडिकल कलेजले दुई वर्षयता करिब २ सय ५० जना कर्मचारीलाई अवकाश दिएको छ । कात्तिकको पहिलो साता दुई जना कर्मचारीलाई फेरि हटाएपछि यादव र साह अनशन बसेका हुन् । अनशनमा बसेका उनीहरूले ६ वर्षदेखिको १ सय २० कर्मचारीको सञ्चय कोषको रकम दिनुपर्ने, त्यही अवधिको दसैं–खर्च र आफूहरूले नियमित पाउनुपर्ने आठ महिनाको तलब पनि दिनुपर्ने माग गरेका छन् ।
उनीहरूको मागप्रति समर्थन जनाउँदै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनशनरत कर्मचारीको जीवन रक्षाको माग गर्दै बुधबार विज्ञप्ति जारी गरे । मेडिकल कलेज सुधार तथा श्रम शोषणविरुद्धका माग राखी अनशनमा बसेको यतिका दिन भए पनि सम्बन्धित पक्षले बेवास्ता गरेको भन्दै केसीले आपत्ति जनाएका छन् ।
मेडिकल कलेजअन्तर्गत शिक्षण अस्पतालको आकस्मिक कक्ष नै ठप्प पारी मेडिकल स्टाफ, पारा मेडिकल स्टाफ, सुरक्षा गार्डसहित १ सय १५ जना कर्मचारी गत असोज १२ देखि नै आन्दोलनमा छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा कर्मचारी र कलेज प्रशासनबीच भएको सहमति कार्यान्वयन नगरी उल्टै जागिरबाटै निकालिएपछि यादव र साहले आमरण अनशन थालेका हुन् ।
मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत दयानन्द झाले केही कर्मचारीले आफ्नो स्वार्थसिद्धिका लागि अन्य कर्मचारीलाई उचालेर कलेजलाई धराशायी बनाउन खोजेको आरोप लगाए । ‘हामीले प्रक्रिया पूरा गरेरै उनीहरूलाई कामबाट निकालेका हौं । कलेज सवा अर्ब रुपैयाँ ऋणमा छ,’ उनले भने, ‘कोभिडकालमा करोडौं घाटा सहेर पनि कर्मचारीलाई मासिक पारिश्रमिक दियौं । आर्थिक समस्याले दुई महिनाको तलब दिन सकेनौं । अर्को महिनासम्ममा दिने तयारी छ ।’







