कात्तिक ३०, काठमाडौं ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शनिबार साँझ साढे ५ बजे शितल निवास पुगेका थिए । त्यहाँ दुई घन्टाभन्दा बढी राष्ट्रपतिसँग ओलीले संवाद गरेका छन् ।
नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेलामा राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटलाई पार्टीभित्र अर्थपूर्ण रूपमा हेरिएको छ ।
शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले एकल राजनीतिक प्रस्ताव पेश गरेका थिए । प्रचण्डको प्रतिवेदनमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि समर्थन रहेको बताइएको छ ।
तर प्रचण्डको प्रतिवेदनलाई लिएर प्रधानमन्त्री निकट नेताहरू भने आक्रोसित बनेका छन् । प्रधानमन्त्री निकटका स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा लगायतले सार्वजनिक रुपमै प्रचण्डले प्रतिवेदन फिर्ता लिनुपर्ने बताएका छन् ।
पार्टीभित्र विवाद बढेका बेलामा राष्ट्रपति भण्डारीले पटक पटक चासो राख्दै आएकी छन् ।
केही दिनअघि उनले उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य रहेका गृहमन्त्री रामबहादुर थापासँग भेट गरेकी थिइन् । नेकपाभित्रको विवादमा चासो राखेको भन्दै नेकपाभित्र र बाहिर उनको राष्ट्रपति भण्डारीको विरोध हुँदै आएको छ ।
यसै क्रममा शनिबार पनि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच २ घण्टाभन्दा बढी कुराकानी भएको बताइएको छ । स्रोतका अनुसार त्यस अवधिमा पार्टि एकता, हालका समस्याजस्ता विषयमा कुराकानी भएको थियो ।







