मंसिर २०, काठमाडौं ।
सामान्यतया गाडी, रेल, पानीजहाज तथा हवाइजहाजमा यात्रा गर्दा अप्ठेरो महसुस हूने, पसिना आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, वाकवाकि लाग्ने र वान्ता हुने जस्ता समस्या देखिन सक्छ ।
यात्रा गर्दा यस्तो हुनुलाई मेडिकल शब्दमा ‘मोसन सिक्नेस’ भनिन्छ । मोसन सिक्नेस हुनुको प्रमुख कारण यात्रुको आँखाले देखेको दृश्य र यात्रुको भित्रि कानले गरेको महशुस फरक पर्न गइ दिमागमा मिश्रित सन्देश जानु हो ।
अन्य कारणहरूमा यात्राको डर, बसेको ठाँउमा सफा हावाको प्रवाह कम हुनु, झ्यालबाट बहिर हेर्न नमिल्नु आदि हुन् ।
प्रायः यसबाट यात्रा गर्ने सम्पूर्ण यात्रु खतरामा भए पनि गर्भवती महिला, २ देखि १२ वर्ष सम्म का बालबालिका र माइग्रेन भएका बिरामिहरू बढी प्रभावित हुने गर्दछन् । सामान्यतया मोसन सिक्नेसबाट प्रभावित बिरामी यात्रा सकिसकेपछि आफै बिस्तारै सन्चो हुदै जान्छन् । तर बिरामीलाई जलवियोजन भएमा तुरून्त स्वस्थ्य संस्था लैजानु पर्दछ ।
यसका रोकथामका उपायहरू :
– यात्रा गरिरहेको दिशा भन्दा फरक दिशामा फर्केर नबस्ने ।
– सकेसम्म गाडिको अगाडिको सिटमा बस्ने, पानीजहाजको तलको मध्यभागमा तथा हवाइजहाजको पखेटानेरको सिटमा बस्ने ।
– बसेको ठाँउमा सफा हावाको प्रवाह कम हुन नदिन मिल्ने भए झ्याल खोल्ने ।
– यदि अन्य यात्रुलाइ वान्ता भइरहेको भएमा सकेसम्म टाढा बस्ने ।
– मोसन सिक्नेसको बारेमा, यसका लक्षणहरूको कुरा नगर्ने र कुनै यात्रुले गरेमा ध्यान नदिने ।
– यात्रा गर्दा पत्रपत्रिका तथा किताबहरू नपढ्ने, आँखा बन्द गर्ने अथवा कुनै टाढा को कुनै निश्चित बिन्दुमा हेर्ने ।
– यात्रा गर्नु पुर्व धेरै चिल्लो खाना, धुम्रपान तथा मद्यपान नगर्ने ।
– ध्यान भङ्ग गर्ने खालका कृयाकलाप गर्ने जस्तै गीत सुन्ने, केहि खाने, गफ गर्ने आदी । राम्रा कुरा, सुन्दर दृष्य कल्पना गर्ने र बास्नायुक्त रुमाल राखिरहने ।
– यात्रा गर्नु पुर्व स्याउको जुस पिउने, पुदिनाको चिया अथवा पुदिनाको पात खाने । तिते पाती को चिया अथवा केहि तिते पाती को रस खाने, अदुवाको चिया अथवा अदुवा खाने । यात्रा गर्दा कागति खाने गर्नाले पनि यसलाई कम गर्न सकिन्छ ।
– स्वास्थ्यकर्मीको सल्लाह बमोजिम मात्र यात्रा गर्दा प्रोमिथाजिन, सक्लिजिन, डिफिन्हाड्रइन जस्ता औषधि सेवन गर्ने ।







