मंसिर २०, हुम्ला ।
जिल्लामा बिरामी बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
सिमकोट गाउँपालिका–४ ओख्रेनीमा लु२च २१०२ नम्बरको बोलेरो जिप गएराति ११ बजेतिर दुर्घटना भएको थियो । जसमा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । शव जिल्ला अस्पताल हुम्लामै राखिएको छ ।
दुर्घटनास्थल पुग्न सदरमुकामबाट पैदल पौने दुई घन्टा लाग्छ । शनिबार राति ११ बजे जिप दुर्घटना भएको जानकारी पाएलगत्तै सदरमुकामबाट जिप र ट्याक्टरमा उद्धार टोली पठाइएको थियो ।
राति १२ बजे घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको थियो । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिपमा ११ जना सवार थिए । दुर्घटनामा परी एक वर्षको बच्चासहित सात जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।
घाइते हुनेमा सिमकोट–२ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिका कल्पना सिंह, सिमकोट–८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट–८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका–१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् ।
बोलेरो जिप मूल सडकबाट करिब ६०० मिटर तल खसेको छ । जिप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए ।
सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।







