‘गल्ती ढाकछोप गर्न संसद बन्द गराइयो’

मंसिर ३०, जनकपुरधाम ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो गल्तीको ढाकछोप गर्न सरकारले संसद बन्द अवस्थामा राखेको आरोप लगाएका छन् ।

सोमबार जनकपुरधाममा आयोजना गरेको सरकारविरुद्वको प्रदर्शनलाई सम्बोधन गर्दै नेता सिंहले जनताको कुरा उठाउने थलोलाई बन्द गरेर सरकारले तानाशाही प्रवृत्ति देखाएको बताए ।

‘चलिरहेको संसदलाई एक्कासी बन्द गरेर सरकारले आफ्नो गल्ती ढाकछोप गराउन चाहेको छ,’ उनले भने, ‘आफूमाथि गाह्रो हुन्छ । जनप्रतिनिधिले आवाज उठाउँछन् भनेरै कुनै प्रक्रिया पूरा नगरीकन, सभामुखलाई सहभागी नगराई संसद बन्द गराइएको छ ।’

जनताको कुरा संसदमा उठाउन नपाएपछि कांग्रेस सडकमा आएको पनि उनले बताए ।

प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्व शून्य सहनशीलता अपनाएको भनेपनि उनकै दायाँ बायाँ भ्रष्टाचार भइरहेको सिंहले बताए । ‘शून्य सहनशीलता छ भनेर हामीले हेरेका छौं’ उनले भने, ‘बाइडबडी, सुनकाण्डसहित कोरोनाकालमा पनि व्यापक भ्रष्टाचार भएको छ । यही कुरा लुकाउन संसद बन्द गराइएको छ ।’

नेकपा नेतृत्वको सरकारले आफ्ना नेता कार्यकर्तालाई संरक्षण गर्न भ्रष्टाचार गर्न छुट दिइरहेको उनले बताए ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा संलग्न भएका आफ्ना नेताहरुलाई बचाउन ढाकछोप गरिरहेको उनले बताए । प्रमाण भएपनि दोषी नेतालाई कारवाही गराउन प्रधानमन्त्रीले नचाहेको उनको भनाइ छ ।

राष्ट्रपति संविधानको संरक्षकको रुपमा रहनुपर्ने भए पनि पद अनुसारको काम कत्तिको गर्नुभएको छ ? भनेर उनले प्रश्न पनि गरे ।

नेकपा सरकारले जिम्मेवारीपूर्ण तबरले जनताको काम नगरेकाले आफूहरु सडकमा उत्रिएको नेता सिंहले बताए ।

‘कांग्रेस किन चुप लाग्यो भनेर सबैले भन्थे’ उनले भने, ‘तर आज ७७ जिल्लामै नेता कार्यकर्ता जुर्मुराएपछि हामीले सरकारलाई चुनौती दिन शुरु गरिसकेका छौं ।’