अध्यादेश जारी भएपछि विवाद : ओली र प्रचण्ड-नेपाल पक्ष छुट्टाछुट्टै भेला

मंसिर, ३० काठमाडौं । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएपछि यसको चौतर्फी विरोध भएको छ ।

उक्त अध्यादेशले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा भइरहेको विवादर अझै चुलिने निश्चित जस्तै भएको छ ।

उक्त अध्यादेशकै कारण प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले पनि विरोध जनाएको छ । सोहि कारणले संबैधानीक परिषद्को बैठमा सभापति शेरबहादुर देउवा नजाने भएका छन् ।

यता, प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा ओली पक्षीय नेताहरुको भेला भएको बुझिएको छ ।

अध्यादेश जारी गरेपछि विपक्षी दल र पार्टी भित्रैबाट विरोधका स्वर सुनिरहँदा ओली बालुवाटारमा आफू निकट नेताहरुसँग छलफलमा जुटेका हुन् ।

बैठकमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्बाङका साथै ओली गुटका नेताहरु बालुवाटार पुगेका बुझिएको छ ।

ओलीले आजै साँझ पाँच बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

यता विपक्षी नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्दै देउवा बैठकमा नजाने भएका हुन् । यस्तै, नेकपा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट प्रतिनिधिसभा सभामुख अग्नीप्रसाद सापकोटा समेत बैठकमा उपस्थित हुने सम्भावना छैन ।

बिहान बोलाइएको परिषद्को बैठकमा पनि सापकोटा गएका थिएनन् । यस्तै, प्रचण्ड र माधवकुमार नेपाल पक्ष समेत छलफलमा जुटेको बुझिएको छ ।

यता नेकपाका नेता जनार्दन शर्माले ओली सरकारले सत्ताको स्वार्थमा अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

समाजिक सञ्जाल ट्वीटमार्फत नेता शर्माले पार्टीमा विवाद देखिएपनि त्यसलाई छलफल र सहमतिको प्रक्रियाबाट सहज ढंगले समाधान गर्न सकिएपनि सरकारले असहज प्रक्रियाको बाटो रोजेको बताएका हुन् ।

यसैगरी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले सरकारको कदमलाई प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमको संज्ञा दिँदै ओलीले पार्टी कमिटीको बैठकमा जवाफ दिनुपर्ने बताए ।

‘यो प्रधानमन्त्रीको स्वेच्छाचारी कदम हो । पार्टीको बैठक भइरहेको बेला अध्यादेश ल्याउनु अत्यन्त आपत्तीजनक छ। फिर्ता हुनुपर्छ,’ उनले भने, ‘संविधान बनाउनुपर्ने बेलामा संवैधानिक परिषदको निश्पक्षता हुनुपर्छ भनेका थियौं। त्यसको नेतृत्व मदन भण्डारी कामरेडले गर्नुभएको थियो। उहाँले (प्रधानमन्त्री ओली) मदन भण्डारीमाथि प्रहार गर्नुभयो।’

त्यस्तै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रको उपहास गरेको आरोप लगाएका छन् ।