लगानी बोर्डले सहजिकरण गर्ने चार परियोजनाले बुझाए डिपिआर

पुष १, काठमाडौं ।
लगानी बोर्डले सहजीकरण गरेका चार ठूला पूर्वाधार परियोजनाका विकासकर्ताले संबन्धित परियोजनाको बिस्तृत अध्ययन प्रतिवेदन बुझाएका छन् ।

वीरगञ्ज र भैरहवामा निर्माण हुने ‘प्राइभेट फ्राइट टर्मिनल एण्ड बल्क हेन्डलिङ फेसलिटिज्’ परियोजनाको विकासकर्ता फ्ल्यास फ्राइट लजिस्टिक एण्ड इन्टरनेशनल कार्गो टर्मिनल एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले बिस्तृत संभाव्यता अध्ययन प्रतिवेदन बुझाएको छ । यो परियोजना अगाडि बढाउन गत बर्षको मंसिर १५ गते बोर्ड र कम्पनीबीच सम्झौता भएको थियो ।

यसैगरी बिराटनगरमा निर्माण हुने ‘मल्टी मोडल लजिस्टिक पार्क’ परियोजनाको विकासकर्ता कम्पनी सीजी लजिस्टिक प्रालि र सर्राफ ग्रुपले समेत विस्तृत प्रतिवेदन बुझाएको छ । परियोजना अगाडि बढाउन गत बर्षको असार २ गते सम्झौता भएको थियो ।

यसबाहेक चाइना–नेपाल फ्रेन्डसिप इन्डष्ट्रियल पार्क परियोजनाको विकासकर्ता दमक क्लिन इण्डस्ट्रियल पार्कले पनि विस्तृत परियोजना प्रतिवेदन बुझाएको छ । यो परियोजनाले ५८ कोड ६१ लाख अमेरिकी डलर बराबरको लगानी स्वीकृति गत बर्ष नै पाइसकेको थियो ।

विरेठाँटी–मुक्तिनाथ केवलकार निर्माणको लागि बिकासकर्ता कम्पनी मुक्तिनाथ दर्शन प्रालिले पनि प्रतिवेदन बुझाएको छ । कम्पनीले भने गत मंसिर १४ गते नै प्रतिवेदन बुझाएको थियो । यसको कुल लम्बाइ ८०.१६ किलोमिटर छ ।