किशोरीलाई जबरजस्ती यौनधन्दामा संलग्न गराउने होटेलका सञ्चालक र कामदार पक्राउ

पुष २, भक्तपुर ।
कामको खोजीमा रहेकी किशोरीलाई काम दिएर जवरजस्ती यौन धन्दा गर्न बाध्य बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले एक १७ वर्षकी किशोरीलाई कोठाभित्र ग्राहकसँग पठाएर ढोका लगाउने होटल वेटरसहित संग्लन अन्यलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका वडा नं ७ हेल्मेट डाँडास्थित बाटोमाथीको रिसोर्टमा किशोरीहरुलाई सुरुमा ललाई फकाई रेष्टुरेन्टमा जागिर दिने प्रलोभन देखाइन्छ । ती किशोरीहरु काममा आएपछि रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्यका लागि कोठाभित्र पठाएर ढोका बन्द गरिदिने गरिकएको पाइएको परिसरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए ।

विशेष सुचनाका आधारमा प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरिक्षक शशीधर शर्माको नेतृत्वमा खटिएको टोलीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ थलारा गाँउपालिका वडा नं. २ स्थायी घर भई हाल काठमाडौ जिल्ला का.म.न.पा. शान्तिनगर बस्ने २६ बर्षको निश्चल उपाध्याय छन् ।

त्यसैगरि तनँहु जिल्ला म्याग्दे गाँउपालिका वडा नं. ७ रानीश्वरा घर भई हाल सोही रिसोर्टमा वेटरको काम गर्ने बर्ष २० को प्रदिप कुँवर रहेको प्रहरीले जानकारी दिएको छ । बालिकाका अनुसार कुँवरले कोठामा पठाएर ढोका लगाईदिका थिए भने उपाध्यायले जबरजस्ती करणी गरेको प्रहरीलाई बताएकी छिन् ।

त्यसैगरी अनुसन्धानको लागि पुगेको प्रहरी टोलीलाई अवरोधका साथै दूव्र्यवहार गरेका काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाँउपालिका वडा नं. २ डटुवा घर भई हाल सोही रिसोर्टमा काम गर्ने बर्ष २१ को प्रदीप केसीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिएसपी गिरीका अनुसार गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं. ९ लक्ष्मीबजार स्थायी घर भई हाल सोही रिसोर्टमा काम गर्ने २२ बर्षको अश्विन कुँवरसमेत पक्राउ परेका छन् ।

प्रहरी टोलीसँग एक १७ बर्षीय किशोरीले भनिन्, ‘मलाई ईच्छा विपरीत प्रलोभनका साथै डर, धाक धम्की दिई जबरजस्ती ग्राहकसँग सुत्न बाध्य पार्ने गर्छ ।’ उक्त कार्य गराउन जबरजस्ती रिसोर्टको कोठामा पठाउने वेटर कुँवर र जबरजस्ती करणी गर्ने उपाध्यायलाई कानुन बमोजिम नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

‘पीडित बालिकाले निजको फुपुको रोहबरमा दिएको जबरजस्ती करणीको जाहेरी दरखास्तको आधारमा भक्तपुर जिल्ला अदालतबाट थप अनुसन्धान म्याद थप भएको छ,’ डीएसपी गिरीले भने । यसबारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।